काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन गर्ने विश्वास दिलाउने वातावरण बनाउन सरकार र सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शनिबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको सहभागितामा भएको छलफलमा चारै सुरक्षा निकायका प्रमुखलाई राष्ट्रपति पौडेलले राजनीतिक दल र आम नागरिकलाई चुनावबारे आश्वस्त बनाउन आग्रह गरेका हुन् । शान्तिसुरक्षा कायम गर्न र भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएकी थिइन् ।