काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले खरिद प्रक्रियालाई पूर्णरूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने बताएकी छिन् । मन्त्रालयमा आइतबार पदभार ग्रहणपश्चात् पत्रकारहरुसँग कुरा गर्दै गौतमले जेन–जी प्रदर्शन भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएकाले सोहीअनुसार कार्य गर्ने बताइन् । उनले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको पनि जानकारी दिइन् । सोहीअनुसार उनले ‘जेन–जी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताइन् ।
जेन–जी आन्दोलनमा सहिद भएका परिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । मन्त्री डा. गौतमले वर्तमान सरकार नागरिक सरकार भएकाले यसको मूल्याड्ढन कामबाट मात्र हुने उल्लेख गरिन् । उनले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताइन् ।
स्वास्थ्य सचिवको रूपमा काम गरिसक्नुभएका नवनियुक्त स्वास्थ्यमन्त्री डा गौतम प्रसूति तथा स्त्री रोग विशेषज्ञका साथै जनस्वास्थ्यविद् पनि हुन् ।