झापा । जिल्लामा रगतको अभाव भएको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापाले व्यक्ति र सङ्घसंस्थालाई रगत दान गरेर सहयोग गरिदिन आग्रह गरेको छ । जिल्लामा रहेका छवटा रक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको छ ।
लगातार भएका चाडपर्व र विपद्का कारण रगत अभाव भएकाले रक्तदानका लागि अपिल गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए । “रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात निकै कम भइसकेको छ । अस्पतालमा मिर्गौलाको डायलाइसिस गर्ने र अन्य बिरामीका लागि मात्र दैनिक एक सय पिन्ट रगत चाहिन्छ । हामीसँग दुई दिनलाई पुग्ने रगत मात्रै छ । त्यसैले रगत दानका लागि सबैलाई आग्रह छ”, उनले भने ।
दसैँ, तिहार, छठलगायत चाडपर्व र असोज १८ देखि २० गतेसम्मको वर्षा र विपद्ले निम्त्याएपछि रक्तदान कार्यक्रम हुन नसक्दा जिल्लामा रगतको अभाव भएको अध्यक्ष ढकालले बताए । उनले जिल्लामा रगतको माग उच्च देखिएको बताउँदै १८ वर्षमाथिका रक्तदान गर्न योग्य व्यक्तिलाई नजिकै रहेका रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रगत दानका लागि आग्रह गरे ।
‘जेनजी’ प्रदर्शनका क्रममा एक हजार ५०० पिन्ट रगत काठमाडौँ पठाएको जानकारी दिदैं अध्यक्ष ढकालले भने, “रगत माग्ने, खोज्ने मात्र होइन, आफूले पनि रक्तदान गरौँ र बिरामीलाई रगत लिन जाँदा जुनसुकै रक्त समूहको भए पनि दुई–तीन जना व्यक्ति रक्तदानका लागि लिएर जाने गरौँ । हामीसँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर छ । त्यसैले रगत चाहिने बिरामीका आफन्तलाई आफैँ सम्पर्क गरेर पनि दाता खोज्न हाम्रो आग्रह छ ।”