काठमाडौं । तत्कालको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा आन्दोलन स्थगित भएको छ । नेप्सेमा कार्यरत कर्मचारीहरुले एक महिनापछि विरोधका कार्यक्रम तत्कालको लागि स्थगित गरेका हुन् ।
नेप्सेका अनुसार श्रम अदालतको फैसलाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएपछि तत्कालको लागि आन्दोलनका सबै कार्यक्रमहरु स्थगित भएको छ । यसअघि श्रम अदालतले नेप्सेको वार्षिक नाफाबाट कर्मचारीलाई पाँच प्रतिशत बोनस छुट्याउने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको थियो । नेप्सेको व्यवस्थापन पक्षले श्रम अदालतले दिएको आदेश कार्यान्वयन नगरेपछि विगत एक महिनादेखि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेप्से व्यवस्थापन श्रम अदालतको फैसलाविरुद्ध असोज २८ गते सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले दुवै पक्षलाई कात्तिक २३ गते बोलाएपछि तत्कालका लागि नेप्सेका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
कर्मचारी आन्दोलन स्थगित भएपछि बुधबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईं एक महिनापछि कार्यालयमा उपस्थित भएका छन् । यता धितोपत्र बोर्डमा पनि विगत लामो समयदेखि आन्दोलन जारी छ । सोही कारण कार्यालयमा उपस्थित हुन नसकेका बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ बुधबार प्रहरीको सहयोगमा कार्यालयमा हाजिर भएको बोर्डले जनाएको छ ।