काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर कम्पनीहरुलाई चार बुँदे सर्कुलर जारी गरेको छ । बुधबार उद्धार उडानको क्रममा ९एन–एएमएस कलसाइनको अल्टिच्युड एयरको हेलिकप्टर लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।
यसलाई ख्याल गर्दै प्राधिकरणले अबदेखि ह्वाइटआउट वा कुहिरोको अवस्थामा व्यावसायिक उडान गर्न नपाइने भनेको हो । त्यसैगरी हिमपात हुने क्षेत्रमा उडान भर्नैपरेमा हेलिकप्टर स्किडमा ‘बियर पज’ राख्नैपर्ने व्यवस्था गरिएको छ ।
यसबाहेक सम्भव भएसम्म सबैखाले उडानहरुमा मार्शलर अर्थात् अवतरणका बेला ग्राउन्डमा संकेत गर्ने मान्छेको व्यवस्था गरिने र अवतरण गरिराख्नुपर्ने उचाइका क्षेत्रहरुमा सुरक्षा सुनिश्चितताका लागि राम्ररी ग्राउन्ड को–अर्डिनेसन हुनुपर्ने उल्लेख गरेको छ ।
त्यस्तै, हिउँले भरिएका हेलिप्याडहरुबाट हिउँ (अन्य अवरोधक वस्तुहरु पनि) पूर्ण हटाइएको हुनुपर्ने पनि सर्कुलरमा उल्लेख छ ।