बाजुरा । मार्तडी कोल्टी सडकमा पर्ने बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा शनिबार बस दुर्घटना हुँदा बस सहचालकको मृत्यु भएको छ । कोल्टीबाट धनगढीका लागि छुटेको सुपप्र ०१–००१ ख ३१८१ नम्बरको बस दुर्घटना भएको हो ।
बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ का २४ वर्षीय घाइते गणेश जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले जानकारी दिएका छन् । घाइते जोशीको अवस्था जटिल भएपछि थप उपचारका लागि धनगढी पठाइएको थियो । अस्पतालमा उपचारका क्रममा शनिबार राति १०ः०० बजे मृत्यु भएको प्रहरीको भनाइ छ ।
जिल्ला अस्पताल बाजुराले बस दुर्घटनामा परी घाइते भएका आठ जनालाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको जनाएको छ । घाइतेलाई शनिबार राति नै एम्बुलेन्स र जिपमार्फत धनगढी पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।
सूचना अधिकारी गिरीले स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बूढीनन्दा नगरपालिका–६ छातीकोटका १९ वर्षीय उमेश भाट, सोही नगरपालिका–५ बस्ने २४ वर्षीया जमुना मल्ल, सोही नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीया लक्ष्मी मल्ललाई थप उपचारका लागि पठाइएको बताए ।
यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उनकी दुई वर्षीया छोरी जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह, जेसिका सिंह र बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४५ वर्षीया इसरा देवी सुनारलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।
बस सडकमा रोकेर सामान छतमा राख्ने क्रममा बस एकाएक पछाडि गएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस दुर्घटनापछि चालक फरार छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।