काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) ले लगानीका दायरा विस्तार गर्दै सरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोषसँग सार्वजनिक–निजी साझेदारीमार्फत ठूला र रोजगारमूलक परियोजनामा लगानी गर्ने निर्णय गरेको छ ।
कम्पनीको पहिलो वार्षिक साधारणसभाले जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि, घरेलु तथा साना–मझौला उद्योगमा लगानी विस्तार गर्ने र ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने योजना पारित गरेको हो । कम्पनीले एनडीपी भेञ्चर र एनडीपी डेभलपर नामका छुट्टै संरचना स्थापना गरी पीभीसी, सहरी पूर्वाधार र आवास क्षेत्रमा लगानी गर्ने निर्णयसमेत गरेको छ । साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कम्पनीले लगानी विविधीकरण र जोखिम व्यवस्थापनका विभिन्न प्रणाली विकास गरेको जानकारी दिए । ढकालले मुलुकको सुस्त अर्थतन्त्रलाई गतिशील बनाउन, उत्पादन र रोजगारी वृद्धि गर्न तथा उद्यमीको मनोबल बढाउन एनडिपीले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘माग घटेकाले व्यवसाय सुस्त छन्, नयाँ लगानीमा मनोबल कमजोर छ । यस्तो अवस्थामा ठूला तथा रणनीतिक परियोजनामा लगानी गरेर अर्थतन्त्रलाई लयमा ल्याउन सक्छौं,’ उनले भने ।
उनका अनुसार, स्वदेश र विदेशमा रहेका नेपाली लगानीकर्तामाझ कम्पनीप्रति चासो बढ्दै गएको छ । ढकालले हालै अमेरिकामा आईएमएफको कार्यक्रममा सहभागी हुँदा त्यहाँ रहेका नेपालीहरुले पनि नेपालमा लगानी गर्न इच्छा प्रकट गरेको जानकारी दिए । एनडीपीले स्वदेश तथा विदेशका लगानीकर्तालाई नेपालमा उद्योग–व्यवसाय स्थापना, सञ्चालन र विस्तारका लागि परामर्श सेवा उपलब्ध गराउने र समस्याग्रस्त उद्योग पुनर्जीवनका परियोजनामा सहकार्य गर्ने योजनाअघि सारेको छ । कुल पुँजी १० अर्ब रुपैयाँ रहेको एनडीपीमा हाल ४६ जिल्लाका दुई सय ४६ जना सेयरधनी छन् । कम्पनीको स्थापना नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघको सहकार्यमा गरिएको हो ।