काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको बैठक सिंहदरबारमा सुरु भएको छ।प्रधानमन्त्री कार्कीले संघीय शासन व्यवस्थाको सुदृढीकरण तथा संघ र प्रदेशबीचको सहकार्यलाई सुदृढ बनाउनका लागि आज सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई छलफलका लागि बोलाएकी थिइन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघि बैठक औपचारिक रूपमा सुरु भएको हो। सचिवालयले जानकारी दिएको अनुसार, यो बैठकको मुख्य उद्देश्य परिवर्तित राजनीतिक परिस्थिति र संघीय अभ्यासका बीच संघ–प्रदेश सम्बन्धमा देखिएका चुनौती तथा अवसरबारे साझा समझदारी कायम गर्नु रहेको छ। बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी छन्। बैठकमा संघीय र प्रदेश सरकारबीचको नीतिगत समन्वय, बजेट कार्यान्वयन, सेवा प्रवाहमा एकरूपता, र प्रदेशहरूको आर्थिक अधिकारसम्बन्धी विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री कार्कीले संघीयता कार्यान्वयनमा प्रदेश सरकारहरूको भूमिका अझ प्रभावकारी बनाउन र नीति निर्माणमा समन्वयात्मक दृष्टिकोण अवलम्बन गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ।