काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानस्थित सरिता गिरीको घरमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा प्रहरीले छ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा मिति २०८२ कार्तिक १६ गते बिहान २:०० बजे, प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सरिता गिरीको चार तले घरको भुईँतलामा बन्द कोठा खोलेर चेकजाँच गर्दा ५ पुरुष र १ महिला गरी ६ जना व्यक्तिलाई सट्टेबाजीमा संलग्न अवस्थामा फेला पारेको हो। प्रहरीका अनुसार खेलमा प्रयोग भएका १६ थान कौडा, खेलको खालबाट रु. ४२,५५० र पक्राउ परेकाहरूको साथबाट थप रु. १,२९,५०० गरी जम्मा रु. १,७२,०५० नगद बरामद गरिएको छ। पक्राउ पर्नेमा चन्द्रागिरी–६ निवासी ४४ वर्षीया सरिता गिरी, मकवानपुर थाहा नगरपालिका–१२ घर भई हाल काठमाडौं बसोबास गर्ने ३२ वर्षीय राजु लामा, धादिङ गल्ची गाउँपालिका–४ निवासी ३६ वर्षीय नारायण अधिकारी, धादिङ धुनिबेसी नगरपालिका–६ निवासी ३१ वर्षीय मिलन तमाङ, काठमाडौं महानगरपालिका–७ का ३४ वर्षीय शनि खड्का, र मकवानपुर थाहा नगरपालिका–१२ निवासी २७ वर्षीय सम्राट स्याङ्तान रहेका छन्। पक्राउ परेकाहरूलाई आवश्यक कानूनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।