काठमाडौं, ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। मष्टा ग्रुप प्रालिका सञ्चालकसमेत रहेका चलाउनेले सुन तस्करीबाट कमाएको रकम प्रयोग गरी देशका विभिन्न जिल्लामा जग्गा किनमेल गरेको प्रमाण फेला परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो। विभागका अनुसार अनुसन्धानका क्रममा चलाउनेले झापा, काठमाडौं, रौतहट र काभ्रेपलाञ्चोकमा गरी ३२ कित्ता जग्गा खरिद गरेका छन्। ती जग्गाको अनुमानित मूल्य करिब १५ करोड ३० लाख ५१ हजार रुपैयाँ रहेको छ। काठमाडौंको गोठाटारस्थित घर–जग्गा समेत उनले अन्य व्यक्तिका नाममा खरिद गरेको पाइएको छ। अभियोगपत्रमा उल्लेख अनुसार चलाउनेले अवैध सुन कारोबारबाट प्राप्त रकमसहित गरी कुल २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ शुद्धीकरण गरेको प्रमाण भेटिएको छ। अभियोगपत्रमा भनिएको छ— “खरीदको कुल मूल्य समेत गर्दा हुन आउने रकम रु. १,४५,५४,०३,९४८ र विदेशबाट अवैध रूपमा ल्याइएको ६० केजी ७१६ ग्राम सुनको तत्कालीन मूल्य रु. ५८,५६,०९,५६८ साथै हिमालयन बैंकमा रहेको खाताबाट कारोबार गरिएको रु. ३,५२,००,००० समेत गरी जम्मा रु. २,०७,६२,१३,५१६ प्रतिवादी जीवन चलाउनेले शुद्धीकरण गरेको पुष्टि भएको छ।” अनुसन्धानका क्रममा चलाउनेको सम्बन्ध बेल्जियमका नागरिक दावा छिरिङसँग पनि देखिएको विभागले जनाएको छ।राजस्व अनुसन्धान विभागले साउन ३ गते मोटरसाइकलका ब्रेक प्याडभित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन बरामद गरेको थियो। त्यसबेला झन्डै एक क्विन्टल सुन भन्सार जाँच पास भएर बाहिरिएको भनिए पनि, पछि जोख्दा ६० किलो सुन मात्र फेला परेको थियो। १९ दिनपछि सो घटनामा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धानका लागि प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई जिम्मा दिएको थियो। सीआईबीले त्यस क्रममा चलाउने र दावा छिरिङसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध सम्बन्धी मुद्दा दायर गरेको थियो। पछि सो प्रकरणको थप छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा समिति गठन गरिएको थियो। समितिले चलाउनेलाई पक्राउ गरी पछि छोडिएको भन्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो। सिफारिसपछि तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, र डीएसपीहरू रुगम कुँवर र दुर्गा दाहाललाई सीआईबीबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको थियो। यस्तै, समितिले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र एक चिनियाँ नागरिकबीचको सम्बन्ध देखिएको भन्दै महराविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। हाल सीआईबीले महरालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइरहेको छ।