काठमाडौं — जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरिदिन सर्वोच्च अदालत र जिल्ला अदालत, काठमाडौंले प्रहरीमा जाहेरी दर्ता गरेका छन्। अदालत प्रशासनले आगजनी, तोडफोड र लुटपाटमा संलग्नबारे अनुसन्धान गर्न आग्रह गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएको हो।काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान प्रक्रिया सुरु गरिएको छ। उनका अनुसार जाहेरी दर्ता हुनुअघि पनि प्रहरीले अदालतमा आगजनी भएको विषयसहित २४ भदौका घटनामा छानबिन गर्दै आएको थियो।२४ भदौमा भएको आन्दोलनका क्रममा सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतसहित देशभरका २३ न्यायालयमा क्षति पुगेको थियो। तीमध्ये १० वटा अदालतमा पूर्ण क्षति, ९ वटा अदालतमा आंशिक क्षति, र ४ वटा अदालतमा सामान्य क्षति पुगेको विवरण सार्वजनिक भएको छ। आगजनी र तोडफोडका कारण केही समय स्थगित भएका न्यायिक सेवा कार्यहरू अहिले अधिकांश अदालतले जेनतेन सञ्चालन गर्न थालेका छन्।