काठमाडौं, काठमाडौंको तारकेश्वर नगरपालिका–११, मनमैजु लोकतान्त्रिक चोक नजिकबाट प्रहरीले इन्सास राइफल, पेस्तोल र गोली गठ्ठासहित एक युवकलाई पक्राउ गरेको छ। मिति २०८२ साल कार्तिक १९ गते साँझ करिब १६:३० बजे प्राप्त गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले लिला देवी श्रेष्ठको घरमा छापा मारी शिवराज धमला नामक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जिल्ला कैलाली टिकापुर नगरपालिका–१ घर भई हाल मनमैजुमा बसोबास गर्दै आएका २३ वर्षीय शिवराज धमलाले २०८२ साल भदौ २४ गतेको Gen-Z आन्दोलनको क्रममा लुटपाट भएको हातहतियारहरू घरमा लुकाइराखेको अवस्थामा फेला परेका हुन्। छानबिनका क्रममा प्रहरीले उनका कोठाबाट तल उल्लेखित हतियार तथा गोलीहरू बरामद गरेको जनाएको छः १. इन्सास राइफल (नाल नं. A10059) – १ थान २. सर्टगन (नाल नं. 0114089) – १ थान ३. ठुलो चाइनीज पेस्तोल (Type-54, नाल नं. 55010723) – १ थान ४. SLR राइफलको निलो रंगको ब्ल्याङ राउण्ड – २० थान ५. इन्सास राइफलको म्यागजिन – १ थान ६. ठुलो चाइनीज पेस्तोल (Type-54) को म्यागजिन – २ थान बरामद हतियार र गोलीसहित धमलालाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखामा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले यो घटनालाई गम्भीर रूपमा लिएर हतियारको स्रोत र संलग्न अन्य व्यक्तिहरूको खोजी सुरु गरेको छ।