ढाका । बंगलादेशले बुधबार महत्त्वपूर्ण चुनावअघि सयौँं हतियार संकलन गर्ने आशामा गत वर्ष विद्रोहको क्रममा लुटिएका मेसिन गन, राइफल र पेस्तोलसहित आत्मसमर्पण गर्न आग्रह गरेको छ। यसरी प्रशासनलाई हतियार बुझाउनेलाई नगद पुरस्कारको घोषणासमेत सरकारले गरेको छ ।
एएफपीका अनुसार सन् २०२४ को अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको कट्टरपन्थी शासनलाई अपदस्थ गर्ने घातक अशान्तिका क्रममा प्रहरी शस्त्रागारबाट अनुमानित छ हजार बन्दुक चोरी भएको थियो । प्रहरी प्रवक्ता एएचएम शहादत हुसेनले अझै एक हजार ३०० भन्दा बढी हतियार हराइरहेको जानकारी दिए । सरकारले निर्वाचनमा लुटिएका हतियारको गलत प्रयोग नहोस भनी यो कदम अघि सारेको हो । प्रहरीले हराइरहेका हतियारमध्ये एउटा हलका मेसिन गन फिर्ता गर्नेलाई चार हजार डलर, असल्ट राइफलको लागि ८०० डलर र शटगन वा पेस्तोलका लागि ४०० सम्म पुरस्कारको व्यवस्था गरेको छ भने गोला बारुदको लागि पनि उचित नगद भुक्तानी गरिन जनाएको छ । ‘बंगलादेश प्रहरीले हतियार लिएर आत्मसमपृण गर्नेका लागि पूर्ण गोपनीयताको सुनिश्चितता गरेको छ’, हुसेनले भने ।
गत वर्ष हसिना निर्वासनमा गएपछि बंगलादेशमा राजनीतिक उथलपुथल चलिरहेको छ र सन् २०२६ को फेब्रुअरीमा हुने निर्वाचनअघि राजनीतिक दलहरू सत्ताका लागि होडबाजी गरिरहेका छन् । ढाकास्थित अधिकारवादी समूह ओधिकरका अनुसार विद्रोहपछि राजनीतिक हिंसामा करिब ३०० जनाको मृत्यु भएको र विभिन्न प्रदर्शन र झडपजन्य हिंसामा १५० भन्दा बढीको मृत्यु भएको छ ।