काठमाडौं, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र त्यसमा बनेका संरचनाको भाडा नतिर्ने खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बक्यौता तिर्न ताकेता गरेको छ।
स्काउटले बिहीबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, “उक्त समयावधिभित्र बहाल तिर्न नआएमा नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं. ४ बमोजिम तथा मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १२, दफा ६१९, ६२० र ६२१ अनुसार जग्गामा बनेका सम्पूर्ण भवन र सामान जफत गरिनेछ।”
सूचनामा उल्लेख अनुसार “खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि”ले नेपाल स्काउटको जग्गा र संरचना भाडामा लिएर सञ्चालन गर्दै आएको छ। तर, कम्पनीले लामो समयदेखि भाडा चुक्ता नगर्दा स्काउटलाई आर्थिक क्षति पुगेको जनाइएको छ।
स्काउटले अन्तिम चेतावनीस्वरूप सात दिनभित्र सम्पूर्ण बक्यौता तिर्न आग्रह गरेको छ। सो अवधिमा पनि रकम नतिरे, सम्झौता र कानुनी प्रावधानअनुसार भवन, संरचना र भाडामा प्रयोग भएका सम्पत्ति जफत गरिने चेतावनी दिइएको छ।
यसबाहेक स्काउटले आवश्यक परेमा कम्पनीका अन्य घरजग्गा वा सम्पत्ति समेत जफत गरी बक्यौता असुल गर्ने जनाएको छ।
उक्त जग्गा कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का संलग्न “खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि”ले कब्जा गर्दै आएको आरोप अघिदेखि उठ्दै आएको थियो। स्काउटले सार्वजनिक ताकेतामार्फत अब उक्त जग्गा र संरचनामा आफ्नो स्वामित्व तथा अधिकार पुनःस्थापित गर्ने संकेत गरेको देखिन्छ।