काठमाडौं, नेकपा (एमाले) निकट युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।युवा संघका नेताहरू बिहीबार साइबर ब्युरो पुगेर मेयर शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको आरोपसहित उजुरी दिएका हुन्। साइबर ब्युरोका एक अधिकारीका अनुसार, बालेनविरुद्ध परेको उजुरी हाल दर्ता प्रक्रियामा रहेको छ।मेयर शाहले यही कात्तिक १६ गते मध्यराति आफ्नो फेसबुक पेजमा आपत्तिजनक शब्द प्रयोग भएको एउटा स्टाटस लेखेका थिए। उक्त स्टाटस केही समयपछि उनले हटाएका थिए। युवा संघले मेयर शाहको उक्त अभिव्यक्तिले राजनीतिक आचरण र पदको गरिमा विपरीत काम गरेको भन्दै कारबाहीको माग गरेको बताइएको छ।