काठमाडौं । जेन–जी विद्रोहका बेला हतियार फालेर भागेर बल्लबल्ल ज्यान जोगाएको प्रहरीले घुसपैठी आक्रमणबाट ध्वस्त भएको संरचनामा बसेर फेरि ड्युटी गर्न थालेसँगै घुसखोरी सुरु गरेको पाइएको छ । भ्रष्टाचार विरोधी जेन–जी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालको मुखुण्डो उघारेर खुलेआम घुसखोरी गरेको पाइएको हो ।देशको प्रमुख पर्यटकीय गन्तव्य मानिने काठमाडौंको ठमेलमा व्यवसायीहरुसँगको मिलेमतोमा विदेशी पर्यटकलाई लुटेर लुटिएको रकम विदेशमै क्युआर गरेर पठाउने गरेको र उक्त रकम विदेशबाट नेपाल मगाएर भागबण्डा गरी लिने गरेको हालैको एक घटनाले देखाएको छ । यो घटना गएको तिहारको हो । यही कात्तिक ५ गते राति तिहारको समय पारेर दुई भारतीय पर्यटक हरिस दुवे र सन्दीप कुमार नेपाल आएका थिए । सिनामंगलको एउटा होटलमा बसेका उनीहरुलाई राति ठमेल घुम्न जान मन लाग्यो । उनीहरु त्यहाँबाट एउटा गाडी लिएर ठमेल घुम्न निस्के । त्रिदेवी मार्ग पुगेपछि उनीहरुले गाडी छाडेर पैदल हिँडिरहेका थिए ।
त्यहाँबाट अघि बढ्दा उनीहरु ठमेलको नर्सिङ चोक पुगे । त्यहाँ एउटा प्रहरी भ्यान तैनाथ थियो । त्यस वरिपरि प्रहरीहरु तैनाथ थिए । चोकबाट दक्षिणतिर मानिसहरु बाक्लै थिए । त्यहाँ स्यान्डविच खानेहरुको भीड रहेछ । उनीहरु त्यहाँ पुगेर यताउता हेर्दै थिए, एक युवकले सोध्यो, ‘मसाज करना हे, अच्छा, अच्छा लेडिज है !’ उसलाई सघाउन अर्को व्यक्ति पनि पुग्यो । उनीहरुले ती भारतीयहरुलाई मनाएर बज बारमा लगियो । भित्र पुग्नेबित्तिकै एक युवतीले उनीहरुलाई स्वागत सत्कार गरिन् । उनीहरु पनि केटीको सत्कार देखेर हर्षित बने । तर भित्र छिरेको ढोका बाहिरबाटै बन्द भयो । त्यसपछि युवतीको अर्को सहयोगी थपियो । थुनिएका पर्यटकहरुलाई अभद्र व्यवहारसँगै हातपात र लछारपछार पनि गरियो ।
उनीहरुले ती भारतीयलाई डर त्रास देखाएर जबरजस्ती गरेर हरिस दुवेसँग रहेको सात हजार भारतीय रुपैयाँ खोसेर लिए । त्यतिले मात्र नपुगेर हरिस दुवेको नाममा खाता सञ्चालनमा रहेको एचडीएफसी बैंंकको एटीएमबाट भारतीय नागरिक अब्दुल मल्लिकको नाममा पचास हजार भारतीय रुपैयाँ पठाउन लगाएका थिए । त्यस रात बज बारमा उनीहरुले अर्का भारतीय पर्यटक सन्दीप कुमारसँग रहेको १५ हजार भारतीय रुपैयाँ पनि त्यसैगरी लिएका थिए भने सन्दीप कुमारको नाममा खाता सञ्चालनमा रहेको एसबीआई बैंक इन्डियाको एटीएमबाट अब्दुल मल्लिकको नाममा पचास हजार भारतीय रुपैयाँ ट्रान्सफर गराएका थिए । ती भारतीयहरुलाई त्यसरी संगठितरुपमा लुटेर पछाडिको ढोका देखाएर भाग्न लगाइएको थियो भने लुटेराहरु बन्द गरेकै ढोका खोल्न लगाई निस्किएका थिए । ती दुई भारतीयसँग त्यसरात नर्सिङ चोक ठमेलमा रहेको बज बारमा एक लाख २२ हजार भारतीय रुपैयाँ लुटिएको थियो ।
कात्तिक ४ गते रातिको उक्त घटनापछि दुवै पर्यटकले आफूहरुलाई नेपाल भ्रमणमा निम्त्याउने पक्षसँग ठमेलमा लुटिएको घटना विवरण सुनाएका थिए । त्योसँगै कात्तिक ५ गते नै भारतीय राजदूतावासलाई बोधार्थ दिएर हरिस दुवे र सन्दीप कुमारले प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा जबरजस्ती चोरी लुटपाट गरेकाले कानुनबमोजिम गरी पाउँ भनी निवेदन दिएका थिए । त्यसपछि प्रहरी कार्यालयमा पीडित पक्षले त्यहाँका प्रमुख तथा डीएसपी जागेश्वर भण्डारीसँग पटकपटक वार्ता गरेका थिए । डीएसपी भण्डारीसँगको वार्तापछि एकजना जुंगावाला (सम्भवतः सिभिल प्रहरी)ले उक्त रकम पीडित पक्षलाई फिर्ता गरेको थियो । यही बज बारमा त्यसैगरी लुटिएको एक भारतीय नागरिक जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा फाँटमा गुनासो गर्न डीएसपी राजु अधिकारीसमक्ष पुगेको थाहा भएको छ । उनले आफूलाई यहीँको कामले भ्याइ(नभ्याई भएको बेला सोहखुट्टेको कामले थप तनाब दिएको भन्दै पीडितलाई उतै पठाइदिन मातहतका प्रहरीलाई निर्देशन दिएको बुझिएको छ ।
जेन–जी पुस्ताले गत भदौ २३ गते भ्रष्टाचारको अन्त्य गर्न र प्रतिबन्ध लगाइएको सामाजिक सञ्जाल खोल्न माग गर्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा आफ्ना एजेन्टहरु घुसाएर भूमिगत गिरोहले २३ गते अपराह्नदेखि २४ गते साँझसम्म विध्वंस मच्चाएको थियो । त्यही जेन–जी प्रदर्शनको नाममा र विध्वंशको आडमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते वर्तमान सरकार गठन भएको थियो । जेन–जी प्रदर्शनको मागविपरीत अप्रजातान्त्रिक र असंवैधानिक तरिकाले गठन भएको भए पनि कार्की नेतृत्वको सरकारले जेन–जीको माग सम्बोधन गर्न आफ्नो सरकार गठन भएको दाबी गर्दै आएको छ ।
सरकारमा प्रधानमन्त्री कार्कीदेखि गृहमन्त्री ओमप्रकाश अर्याल हुँदै सबै मन्त्रीले उही कुरा दोहो¥याउँदै आएका छन् । तर गत भदौ २३ गतेअघि केपी ओली नेतृत्वको सरकार हुँदा जसरी भ्रष्टाचार हुन्थ्यो, २७ गते कार्की सरकार बनेपछि भ्रष्टाचार कति रोकियो भन्ने कुरा अब लेखाजोखा गर्नुपर्ने अवस्था आएको छ । किनकि प्रधानमन्त्री बन्नुुअघि कार्कीले सत्तामा रहनेको इच्चाशक्ति हुने हो भने पाँच दिनमा भ्रष्टाचार रोकिने ठोकुवा गरेकी थिइन् । उनी प्रधानमन्त्री भएको लगभग दुई महिना हुन लाग्दा दुई भारतीय नागरिकले आफूहरुमाथि ठमेलमा गरिएको लुटपाट भनिएको घटनाको भारतीय दूतावासलाई बोधार्थ दिएर प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रमुख जागेश्वर भण्डारीलाई दिएको निवेदनले सुशीला कार्कीको भ्रष्टाचारविरोधी मुखुण्डो उदाङ्गो पारिदिएको छ ।
ठमेलमा प्रहरीको संरक्षणमा पर्यटकलाई लुटपाट गर्ने र त्यसरी लुटिएको रकम क्युआर गरेर भारतमा पठाउने भनि नेपाल झिाकाएर प्रहरी र रेस्टुरेन्टका सञ्चालक भनिने लुटेराहरुले भागबण्डा गरेर खाने पुरानो धन्दाले जेन–जी प्रदर्शन र घुसपैठी विध्वंशपछि बनेको कार्की अर्याल सरकारको पालामा पनि निरन्तरता पाएको घटनाले जेन–जी पुस्ताको माग अनुसार सरकारले भ्रष्टाचार राक्न के गर्यो त भन्ने प्रश्न उठेको छ । बज बार नामको उक्त रेष्टुरेस्ट हिमशिखर मल्ल, पवन मल्ल, सानु लामालगायतको समूहले सञ्चालन गर्दै आएको छ । उनीहरुले पहिलेदेखि नै प्रहरीसँगका मिलेमतोमा यस्तो लुटपाटको धन्दा निर्वाधरुपमा गर्दै आएका छन् । यो अहिलेको लुटपाटको घटना मात्रै ठाउँमा पुगेकाले उनीहरुका लागि भारी परेको हो, नत्र भने यस्ता घटनालाई सोह्र खुट्टे प्रहरीले पीडित उजुरीकर्तालाई उल्टै तर्साएर थप रकम झारेर पठाउने गर्दथ्यो ।
तर यो घटनामा चाहिँ त्यस्तो हुन पाएन । काठमाडौंका प्रहरी वृत्तहरु, नागढुुंगा, लैनचौर, सोह्रखुट्टे, स्वयम्भु, कालीमाटी, जनसेवा, दरबारमार्ग, मालिगाउँ, बौद्ध, बानेश्वर, गौशालाको प्रमुख भएर जान चाहने डीएसपीहरुले मालमोलाईपछि सौदाबाजी गरेर जाने पुरानोे परम्परा बनिसकेको छ । रकम कवलेर जाने भएकाले त्यहाँ गएका डीएसपीले सिधै आईजीपीसँग सम्बन्ध राख्ने गर्छन् र उपत्यका प्रहरी परिसरको वचन राखेपछि जिल्लाको सुझावलाई खासै भाउ दिँदैनन् । कवलेर गएकाले उनीहरुको दिनरात अहोरात्रको ध्यान रकम उठाउनेमै केन्द्रीत हुने गर्दछ । सोह्रखुट्टेका डीएसपी भण्डारीले पनि जेन–जी प्रदर्शनपछिको बदलिएको परिस्थितिमा पनि पुरानै धन्दा निर्धक्क सुरु गरेका छन् । उनी सोह्रखुट्टेको प्रमुख भएर जानु केही समयअघि डीएसपी सत्यनारायण थापाले पनि यस्तै हर्कत गर्ने गरेका थिए । पञ्चायतकालतिर अश्लील फिल्मको क्यासेट बेचेर दैनिक गुजारा चलाउने व्यक्ति र बलात्कारको केशलाई छोपेर चोख्याउन खोजिएका व्यक्तिहरुसँगको मिलेमतोमा यसैगरी उठौतीपुठौतीको धन्दा सञ्चालन गरेका थिए ।
सोह्रखुट्टेका प्रहरीले आफूले भनेको कुरा नमान्ने जो कोहीलाई जकमा हाल्ने वा वेश्यावृत्तिमा थुन्ने धम्की दिएर उठाउने गर्दै आएका छन् । नारामा मुस्कानसहितको प्रहरी सेवा भनिएपछि व्यवहारमा नाङ्गो लुटतन्त्र चलाएकाले जेन–जी प्रदर्शनपछिको विध्वंशमा प्रहरी पहिलो निशानामा परेको थियो । त्यहीबेला प्रहरीले हतियार र पोशाक फालेर भाग्दै ज्यान जोगाउनु परेको थियो । सोहखुट्टे प्रहरीले बज बारका सञ्चालक मल्ल एन्ड कम्पनीसँग मिलेर गरेजस्तो ग्राहक पर्यटकलाई लुट्ने धन्दाहरु रेस्टुरेन्टमा पनि निर्वाधरुपमा सञ्चालन गर्दै आएको छ । त्यस्ता डान्सबार तथा रेस्टुरेन्टहरुमा क्विन डान्सबार, मिनिस्टार डान्सबार, बोउच डान्सबार, रिफ्रेस डान्सबार, ब्लु डान्सबार, भोल्कानो डान्सबार, स्काई डान्सबार, रोज डान्सबार, ड्यागन डान्सबार, लायन बलियुड डान्सबार, फुलमुन डान्सबार, लुलु डान्सबार, ब्ल्याक आउट डान्सबार दरवारमार्ग, हेमन डान्सबार बालाजु, वलिउड डान्स क्लब, लाजिम्पाटलगायतका डान्सबारहरुमा प्रहरीकै मिलेमतो र संरक्षणमा यस्तो ठगी र लुटपाट निर्वाधरुपमा निरन्तर चल्दै आएको छ ।जेन–जीको परिर्वतनले यो धन्दामा अहिलेसम्म कुनै असर परेको देखिएको छैन । कथंकदाचित सञ्चालकलाई प्रश्न ग¥यो भने उसले उल्टै तर्साउन खोज्छ, धाकधम्की दिन्छ, केही नलागे प्रहरीमा जा भन्छ । प्रहरीमा गयो, त्यहाँ पनि उल्टापाल्टा कुरा मात्रै हुन्छ, तर्साउन खोज्छ, माथिल्लो निकायमा ग¥यो भने भनसुन गरेकोजस्तो झारा टार्ने काम मात्रै हुन्छ, पीडीतले न्याय पाउँदैन ।
भारतीय नागरिक ठमेलको बारमा लुटिएको विषयमा प्रहरी वृत सोह्रखुट्टेका डीएसपी जोगेश्वर भण्डारीलाई आर्थिक दैनिकले सम्पर्क गरेर घटनाको बारेमा बझ्दा उनले भने, ‘ठमेलका बारमा प्रायः लुटपाटका घटनाभन्दा पनि ओभर बिलिङ गर्ने गरेका घटनाहरु प्रहरीकोमा आउँछन् । त्यो पनि त्यहीअन्तर्गतको घटना हुन सक्छ । म अहिले ठ्याक्कै ड्युटीमा भएको कारणले कात्तिक ५ गतेको घटना अहिले २२ गते ठ्याक्कै बताउन सक्दिनँ । सत्य बताउनलाई विवरण हेरेर मात्र यकिन भन्न सकिन्छ ।’यस्तो अवस्थामा घटनाको जिम्मेवारी डीएसपी जोगेश्वर भण्डारीले लिन हो कि जिल्ला प्रहरी परिसरका प्रमुख रमेश थापाले लिने हो ? अथवा यसको जिम्मेवारी उपत्यका प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले लिने हो कि ? आईजीपी चन्द्रकुवेर खापुङले लिने हो ? प्रहरीले त्यसको जिम्मेवारी नलिने हो भने भ्रष्टाचार रोक्ने ओठे भक्ति देखाएर गृहमन्त्री बनेका ओमप्रकाश अर्याल वा प्रधानमन्त्री सुशीला कार्कीमध्ये कसैन कसैले नैतिक जिम्मेवारी लिनुपर्ने हो । होइन भने नैतिक जिम्मेवारी लिनुपर्ने हो । होइन भने भन्न सक्नुपर्छ कि भ्रष्टाचार अन्त्य गर्ने नारा त हात्तीको देखाउने दाँतजस्तै हो, त्यो त पद हत्याउने नारा मात्रै हो भनेर यसबारेमा थप कुरा बुझ्न बज बारका सञ्चालक शिमशिखर मल्लाई फोन सम्पर्क गर्दा घटना भएको स्वीकारे ।
उनले धेरै दबाब परेपछि रकम फिर्ता गरेको बताएका छन् । प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले जेन–जीको भावनाअनुसार भ्रष्टाचार रोक्ने गरी काम थालिएको दाबी गरिरहँदा जेन–जी नेतृत्वले उनीहरुको कुरा पत्याउन सकिरहेका छैनन् र उनीहरुलाई यथाशीध्र कार्यशैली सुधार्न दबाब दिइरहेका छन् । ठीक यही बेला अर्थमन्त्री रामेश्वर खनालले आफैँ कन्सल्ट्यान्ट रहेको विदेशी कम्पनी लोल्मा कम्प्याक्टलाई लाभकर छुट दिने गरी निर्णय गरेको, व्यापारीहरुसँगको मिलेमतोमा सवारीसाधनमा युरो सिक्स मापदण्ड लागू गर्ने पूर्ववर्ती सरकारको निर्णय उल्टाएर युरो थ्री मापदण्डका सवारी साधन आयात खुला गर्ने निर्णय गरेको कुरा आइरहेको बेला गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरीले डान्सबारका सञ्चालकसँग मिलेर विदेशी पर्यटकलाई थुन्ने लुट्ने र भारतमा क्युआर गरेर रकम ट्रान्सफर गर्न लगाउने गरेका घटना सार्वजनिक भएपछि जनस्तरमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालको भ्रष्टाचारविरोधी कथनप्रति सांकेतिकरुपमा उल्टो लोप्पा खुवाउन थालेका छन् ।