काठमाडौं । भारतमा सेक्युरिटी फेल भएर थन्किएको एक हजार दरको नेपाली नोट छाप्ने जिम्मा नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ्ग एन्ड मिन्टिङ कर्पोरेसनलाई दिएको छ ।
एक हजार दरका ४३ करोड थान नोट कुल दुई अर्ब ४० करोड ३५ लाख रुपैयाँ अर्थात् एक करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा छाप्न चिनियाँ कम्पनीलाई जिम्मा दिइएको हो । यसअघि भारतलाई एक हजार दरको उक्त नोट छाप्न जिम्मा दिए पनि छपाइमा सेक्युरिटी फेल भएकै कारण भारतलाई उक्त नोट छपाइबापतको भुक्तानी रकम अहिलेसम्म दिइएको छैन ।
यसअघि राष्ट्र बैंकले भारतीय सेक्युरिटी प्रिन्टिङ एन्ड माइनिङ कर्पोरेसनलाई नेपाली नोट एक हजार रुपैयाँको ४३ करोड थान छपाइका लागि ठेक्का दिएको थियो । तत्कालीन समयमा उक्त ठेक्काको मूल्य अमेरिकी डलर एक करोड ११ लाख ३४ हजार पाँच सय छ डलर तोकिएको थियो । त्यसमध्ये सरकारले आंशिकरुपमा रकम भुक्तानी दिएको थियो । उक्त छपाइका लागि अझै नेपाली रुपैयाँमा एक अर्ब ५१ करोड ४२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी देखिएको छ ।
सेक्युरिटी फेल भए पनि यसरी छापिएको नयाँ नोट सक्कली एक हजार रुपैयाँको जस्तै रहेको छ । हाल सेक्युरिटी थ्रेटका कारण ठेक्का रद्द भएपछि उसले छपाएको करोडौँ नेपाली रुपैयाँ अब के हुन्छ अन्योल बाँकी छ । तर, सो कम्पनीले नमुनाको रुपमा छपाएको सेक्युरिटी फेल भएको नेपाली रुपैयाँ खुला सीमा नाकाका कारण नेपाल भित्रिए के हुने भन्ने त्रास अझै बाँकी छ ।
नेपाल राष्ट्र बैंकले २०८० फागुनमा भारत सरकारको वित्त मन्त्रालयअन्तर्गतको ‘सेक्युरिटी प्रिन्टिङ एन्ड माइनिङ कर्पोरेसन’सँग एक हजार र ५० रुपैयाँ दरको नोट छाप्ने ठेक्का रद्द गरेको थियो । सो कम्पनीले छापेको नोटमा सेक्युरिटी थ्रेटको समस्या देखेपछि राष्ट्र बैंकले ठेक्का प्रक्रिया रद्द गरेको थियो ।
कम्पनीले नमुनाका लागि भनी छापिएको नमुना नोटको ‘डिजिटल भर्सन’ बैंकको केन्द्रीय कार्यालय, बालुवाटारस्थित मुद्रा व्यवस्थापन विभागमा बुझाएको थियो । विशेष कागजमा छापिने ती नोटबारे बैंकका अधिकारीहरूले भारतीय कम्पनीसँग पटकपटक छलफल गरे तर सेक्युरिटी थ्रेट नभएका कारण नेपाल राष्ट्र बैंकले ठेक्का रद्द गरिदियो । नोट छाप्नका लागि कागज प्रारम्भिक चरणमा नै पानीछाप, सेक्युरिटी थ्रेड हालेर बनाइएको हुन्छ । तर, भारतीय ठेकेदार कम्पनीले नमुनाका लागि बनाएर पठाएको पैसामा सेक्युरिटी थ्रेड नभएपछि राष्ट्र बैंकले ठेक्का प्रक्रिया रद्द गरेको थियो ।
भारतीय कम्पनीले भने ५० सँगै एक हजार दरको नोट पनि छाप्ने टेन्डर अघिल्लो २०७९ मंसिरमै हात पारेको थियो । एक हजार दरका ४३ करोड थान नोट एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलरमा छाप्ने अनुमति दिइएको थियो । एक हजारको नोटमा पनि सेक्युरिटी थ्रेटको समस्या देखिएपछि भारतीय कम्पनी असफल भएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्राविधिक र कार्य व्यवस्था कमिटीले ग्लोबर टेन्डर रद्द गर्ने निचोडमा पुगेको थियो ।
२०७९ पुस २६ गते ठेक्काको आधिकारिक पत्र पाएको कम्पनीले नेपाली नोटको तोकिएको गुणस्तर कायम गर्न नसकेपछि बैंकले उक्त निर्णय गरेको थियो । भारतले नोट छापेर गत दशैँअगावै दिनुपर्ने थियो । तर, दिनुको साटो आलटाल गरिरह्यो । तोकिएको गुणस्तरबारे पटकपटक ताकेता गर्दा पनि काम नभएपछि सञ्चालक समितिले उक्त निर्णय गरेको थियो ।