नयाँ दिल्ली । भारतमा भएको बम विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । दिल्लीस्थित रेड फर्ट मेट्रो स्टेसननजिकै पाकिङ गरिराखेको हुन्डाई आई२० कार विस्फोट भएको हो ।
विस्फोटपछि नजिकैका अन्य सवारीसाधनमा पनि क्षति पुगेको छ भने अन्य धेरै मानिस घाइते भएका छन् । टाइम्स अफ इन्डियाले विस्फोटपछि लागेको आगोले आसपासका अन्य सवारीसाधन पनि जलेका थिए । दिल्ली फायर डिपार्टमेन्टले भारतीय समाचार संस्था एएनआईलाई दिएको जानकारीअनुसार गेट नम्बर १ नजिकै विस्फोट भएको जनाएको छ ।
घाइते भएकालाई नजिकैको अस्पतालमा लगेर उपचार भइरहेको र आठ जनालाई भने अस्पताल पुर्याउनुअगावै मृत्यु भएको बताइएको छ । विस्फोटमा छ कार, दुई ईरिक्सा र एउटा अटो रिक्सामा पनि आगो सल्किएको थियो । घटनालगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहले जानकारी लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।