काठमाडौं । बैंक तथा वित्तहरुको कर्जाको ठूलो हिस्सा बागमती प्रदेशको काठमाडौंमा मात्र थुप्रिएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको बागमती प्रदेशको आर्थिक गतिविधिसम्बन्धी आर्थिक वर्ष २०८१/८२ को अध्ययनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार बागमती प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा फाइनान्स कम्पनीहरुको १२ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको देखिएको छ । गत असार मसान्तसम्म बैंक तथा फाइनान्स कम्पनीहरुले उद्योगहरूमा प्र्रवाह गरेको कर्जा १३ दशमलव आठ प्रतिशतले बढेर भई १२ खर्र्ब ११ अर्ब पाँच करोड रुपैयाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो कर्जा ११ दशमलव पाँच प्रतिशतले बढेर १० खर्र्ब ६३ अर्ब ९४ करोड पुगेकोे थियो ।
बागमती प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३६ दशमलव चार प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ११ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ अर्थात् ९२ दशमलव चार प्रतिशत कर्जा लगानी रहेको छ भने रसुवा जिल्लामा सबैभन्दा कम १३ करोड रुपैयाँ अर्थात् शून्य दशमलव शून्य एक प्रतिशत कर्जा लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । अधिकांश औद्योगिक प्रतिष्ठानहरूको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकोले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको राष्ट्र बैंकको भनाइ छ ।
कुल औद्योगिक कर्जामा विद्युत्, ग्यास तथा पानी उद्योगको हिस्सा ३६ दशमलव पाँच प्रतिशत, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगको हिस्सा ३१ दशमलव पाँच प्रतिशत, कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योगको हिस्सा १५ प्रतिशत, निर्माण उद्योगको हिस्सा १२ दशमलव आठ प्रतिशत, धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगको हिस्सा तीन दशमलव पाँच प्रतिशतले र खानी उत्पदनसम्बन्धी उद्योगको हिस्सा शून्य दशमलव सात प्रतिशत रहेको छ । कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेयपदार्थ उत्पादनसम्बन्धी उद्योगमा २२ दशमलव शून्य नौ प्रतिशतले, विद्युत्, ग्यास तथा पानीमा २१ दशमलव एक प्रतिशतले, निर्माण उद्योगमा १५ दशमलव ३० प्रतिशतले र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा चार दशमलव ९० प्रतिशतले कर्जा बढेको छ भने खानी उत्पादनसम्बन्धी उद्योगमा एक दशमलव ३४ प्रतिशतले र धातुका सामान उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगमा दुई दशमलव ५८ प्रतिशतले कर्जा घटेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार बैक तथा वित्तीय संस्थाले बाग्मती प्रदेशमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा ११ दशमलव ३५ प्रतिशतले बढेर भई २०८२ असार मसान्तमा ३३ खर्ब २३ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा आठ दशमलव ५३ प्रतिशतले वृद्धि भएको थियो । प्रदेशमा २०८२ असार मसान्तमा कर्जा निक्षेप अनुपात ६९ दशमलव २७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६८ दशमलव ९५ प्रतिशत रहेको थियो छ । बैंक तथा वित्तीय फाइनान्स कम्पनीहरुले सेवा क्षेत्रमा प्र्रवाह गरेको कर्जा अघिल्लो वर्षको तुलनामा १० दशमलव छ प्रतिशतले बढेर.१९ खर्र्ब ९० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा सात दशमलव नौं प्रतिशतले बढेको थियो । बागमती प्रदेशमा प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश ५९ दशमलव नौ प्रतिशत रहेको छ । कुल सेवा क्षेत्रअन्तर्गत, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा १५ दशमलव शून्य पाँच प्रतिशतले, पर्यटन क्षेत्रमा १५ दशमलव १७ प्रतिशतले, उपभोग्य क्षेत्रमा १६ दशमलव २९ प्रतिशतले, रियल स्टेट क्षेत्रमा छ दशमलव ३४ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रमा आठ दशमलव १६ प्रतिशतले कर्जा वृद्धि भएको छ भने यातायात, भण्डारण र सञ्चार क्षेत्रमा दुई दशमलव ५४ प्रतिशतले कर्जा घटेको प्रतिवेदनमा उल्लेख छ ।
सेवा क्षेत्रअन्तर्गत प्रवाह भएको कर्जामा काठमाडौं जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ७५ दशमलव एक प्रतिशत रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको र ठूला रकमको कर्जा स्वीकृति केन्द्रीय कार्यालयबाट हुने भएकाले सेवा कर्जाको उच्च हिस्सा काठमाडौंमा देखिएको अनुमान राष्ट्र बैंकले गरेको छ ।