काठमाडौं । गेजुबा ग्रुप पावर इन्भेस्टमेन्ट नेपाल प्रालिले जाजरकोट र रुकुम पश्चिमको सीमा हुँदै बग्ने भेरी नदीमा दुई सय ७० मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउने भएको छ ।
जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका हुँदै बग्ने भेरी नदीमा भेरी १ अर्धजलाशययुक्त आयोजना निर्माण गर्न लागिएको हो । गेजुबा वित्तीय लगानी, आयोजना विकास व्यवस्थापन, विद्युत् उत्पादन प्रसारण तथा बिक्रीवितरण गर्ने उद्देश्यले २०७३ सालमा स्थापना भएको कम्पनी हो ।
यो आयोजनाबाट वार्षिक सरदर १५६७ दशमलव ३१ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ । यसको डिजाइन बहाव ११३ दशमलव ६४ घनमिटर प्रतिसेकेन्ड र कुल हेड दुई सय ९३ मिटर रहनेछ । आयोजनाको सबै संरचना जाजरकोटको नलगाड तथा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका भएर बग्ने भेरी नदीको दायाँ किनारमा रहने कम्पनीले उल्लेख गरेको छ ।
यसअनुसार भेरी नदीमा बाँध बाँधी नदीको दायाँ किनारमा बन्ने साइड इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाका मुख्य संरचनाहरु बाँध, डिस्यान्डिङ बेसिन, हेड रेस सुरुङ, सर्ज ट्यांक, पेनस्टक पाइप हुँदै विद्युत् गृहमा लगिनेछ भने त्यसपछि टेलरेस नहरमार्फत फेरि भेरी नदीमा पठाइने गेजुबाले जनाएको छ ।
प्रस्तावअनुसार आयोजनाबाट विद्युत् उत्पादनको लागि भेरी नदीको पानी फर्काउन ज्यामिरे गाउँभन्दा करिब एक किमि तल बनाइने बाँधको लम्बाई २५१ दशमलव नौ मिटर र खोलाको जमिन सतहबाट ३८ दशमलव पाँच मिटर अग्लो रहनेछ । यो बाँधको क्रेस्ट लेभल भेरी नदीमा समुद्री सतहबाट १३९३ दशमलव पाँच मिटर उचाइमा रहनेछ । बाँधका कारण भेरी नदीमा बाँधैदेखि करिब तीन किलोमिटर माथिसम्म पिकिङ प्रयोजनका लागि जलाशयको निर्माण हुने कम्पनीले बताएको छ ।
यसको फुल सप्लाई लेभल १३९० मेसल र सतहको क्षेत्रफल करिब १७ वर्ग किमि हुनेछ भने उक्त जलाशयमा करिब आठ सय ३३ मिलियन घनमिटर पानी सञ्चय गर्न सकिनेछ । बाँधमा १२ मिटर चौडाइ र २० मिटर उचाइको तीनवटा फ्लड स्लइस गेट हुनेछन् । बाँधको दायाँ किनारामा २ ओरिफिस भएको २५ दशमलव ०७ मिटर लम्बाइ, ३३ दशमलव छ मिटर चौडाइ र २३ मिटर उचाइको साइड इन्टेक बनाइने कम्पनीले जनाएको छ । त्यसपछि पाँच मिटर व्यास र आठ सय १७ मिटर लम्बाइ भएको कनेक्टिङ सुरुङ हुँदै दुई सय १५ मिटर लम्बाइ, १४ मिटर फराकिलो र १५ दशमलव ५८ मिटर उचाइ भएको दुईवटा बेससहितको भूमिगत डिस्यान्डिङ बेसिनमा पानी लगिनेछ । यसबाट ७१ सय ५८ मिटर लामो छ दशमलव पाँच मिटरभित्र व्यास भएको हेडरेस सुरुङ हुँदै ११ मिटर व्यास र एक सय ३२ मिटर उचाइ भएको सर्ज शाफ्टसम्म तथा त्यहाँबाट आठ सय १८ मिटर लम्बाइ र पाँच दशमलव मिटर व्यास भएको पेनस्टक पाइपबाट पानीलाई भेरी नदीको दायाँ किनारामा प्रस्तावित सतही विद्युत् गृहमा लगिनेछ ।
तल्लु गाउँभन्दा करिब एक दशमलव दुई किमि तल भेरी नदीको दायाँ किनारामा प्रस्ताव गरिएको ७४ दशमलव पाँच मिटर लम्बाइ र ३८ दशमलव आठ मिटर चौडाइ भएको सतही विद्युत् गृहमा जडान गरिने तीन वटा ९० मेगावाट क्षमताका फ्रान्सिस टबाइनहरुमा पानी खसाली सो टर्बाइनसँग जोडिएका तीन वटा शून्य दशमलव ८५ पावर फ्याक्टर र १०५ दशमलव ८८ मेगाभोल्ट एम्पियर क्षमताका सिंक्रोनस जेनेरेटरमार्फत दुई दशमलव ७० मेगावाट बिजुली उत्पादन गर्ने कम्पनीको तयारी छ । गेजुबाका अनुसार टर्बाइनको एक्सिस लभेल समुद्री सतहबाट करिब १०९१ मिटर उचाइमा हुनेछ ।
विद्युत् उत्पादनपछि १०.११ मिटर चौडाइको टेलरेस नहरमार्फत पानीलाई फेरि भेरी नदीमा पठाइनेछ भने नर्मल टेलवाटर लभेल समुद्री सतहबाट करिब १०९८ दशमलव ४२ मिटर र न्यूनतम टेलवाटर लेभल करिब १०९७ दशमलव ३८ मिटर उचाइमा हुने कम्पनीले जनाएको छ ।
उत्पादित विद्युत्लाई विद्युत् गृहको नजिकै बाहिर बनाइने स्विचयार्डमा जडान हुने १३ दशमलव ८/४२० केभी भोल्टेज रेसियो र ११० एमभीए क्षमताका तीनवटा पावर ट्रान्सफर्मरमा जोडी त्यहाँबाट २० किमि लम्बाइमा बनाइने ४०० केभीको डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रस्ताव गरेको ४००/१३२ केभीको नलगाड सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने कम्पनीले उल्लेख गरेको छ ।
प्रस्तावित आयोजनाको बाँध क्षेत्रभन्दा तल्लो तथा विद्युत् गृहभन्दा माथिल्लो क्षेत्रमा पाइने जीवजन्तु, जलचर तथा बोटबिरुवाको लागि स्वीकृत हुने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार भेरी नदीमा निरन्तर पानी छाड्ने प्रस्ताव गरिएको छ । आयोजना तयारीअनुसार अघि बढेमा आर्थिक वर्ष २०८८/०८९ सम्ममा विद्युत् उत्पादन हुनेछ ।