काठमाडौं । नगरकोट रिसोर्ट लिमिटेडले एक वर्षमा ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सोमबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष श्री सुरेन्द्र राउत क्षेत्रीले उक्त जानकारी दिएका हुन् ।
गत आर्थिक वर्षमा रिसोर्टले चार करोड ८५ लाख रुपैयाँको कारोबार गरेको छ । हाल रिसोर्टले २४ कोठाबाट सेवा प्रदान गर्दै आएको र दोस्रो चरणअन्तर्गत नयाँ भवन, स्पा र सम्मेलन कक्ष निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको जनाइएको छ । अध्यक्ष क्षेत्रीले कम्पनीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको बताए । नगरकोट रिसोर्टलाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि उनले जनाए । रिसोर्टले दिगो पर्यटन, स्थानीय सहकार्य र उच्चस्तरीय आतिथ्य विस्तारलाई आगामी वर्षको प्राथमिकतामा राखेको छ । साथै, कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेको जनाएको छ । यसका लागि केयर रेटिङ नेपाल लिमिटेडबाट ‘बीबी’ रेटिङ प्राप्त गरिसकेको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ ।