काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको विध्वंसका क्रममा भएको भौतिक सम्पत्तिको क्षतिमा हालसम्म करिब २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
भौतिक तथा अन्य क्षतिको कुल करिब २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी निर्जीवन बीमा कम्पनीहरूमा परेको हो । त्यसको हालसम्म अग्रिम भुक्तानी समेत गरी करिब तीन अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको हो । भुक्तानी भएको यो रकम कुल दाबी रकमको झण्डै आठ गुणाले कम हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्कअनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ छ सय ९३ वटा दाबी परेको थियो । यसको दाबी रकम करिब १९ अर्ब चार करोड नौ लाखमध्ये करिब दुई अर्ब ९२ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । त्यसैगरी, मोटर बीमातर्फ दुई हजार दुई सय ९० वटा दाबीको दाबी रकम करिब तीन अर्ब ४७ करोड सात लाखमध्ये करिब ६८ करोड ६१ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ दुई सय नौवटा दाबीको करिब ५४ करोड ७५ लाख दाबी रकममध्ये करिब छ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिब एक करोड ६८ लाख दाबी रकममध्ये करिब ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिब ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये करिब २३ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
त्यसैगरी जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब दुई अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी (पेस्की) उपलब्ध गराएको छ । नेपाल पुनर्बीमा कम्पनीमा परेको कुल दुई हजार आठ सय ५७ वटा पुनर्बीमा दाबीको दाबी रकम करिब १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्याङ्क छ ।