चिनियाँ र शंकास्पद व्यक्तिहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएपछि पहिलो चरणको छानबिनमा मुछिए पनि सत्ता र शक्तिको आडमा छुटाइएका व्यक्तिहरुमाथि छानबिन थालिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको फाइल खोलिएसँगै पहिलो चरणको छानबिनमा उम्किएका तत्कालीन भीआईपीहरुलाई प्रहरी प्रशासनले उच्च निगरानीमा राखेको हो ।त्यही क्रममा प्रहरीले पूर्वप्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य र ओलीका नातेदार मानिने डा. अजय क्रान्ति शाक्यमाथि उच्च निगरानी राखेको थाहा भएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ गते भएको जेन–जी प्रदर्शनपछि त्यसैको जगमा केपी ओली नेतृत्वको सरकारको पतन भएर सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनेको थियो । यही सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को कार्यालय निरीक्षणका क्रममा यसअघि राजनीतिक हस्तक्षेपमा अनुसन्धान रोकिएका फाइल खोल्न निर्देशन दिएका थिए । त्योसँगै प्रहरीले पछिल्लो पटक यही कात्तिक २१ गते नक्कली भुटानी शरणार्थी काण्डका फरार अभियुक्त निरञ्जन कुरमा खरेललाई पक्राउ गरेको थियो ।
शरणार्थी काण्डमा जोडिएर पनि सत्ता र शक्तिको आडमा उम्कँदै आएका व्यक्तिहरुमाथि निगरानी बढाएको र तीमध्ये पनि एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीका पीए बज्राचार्य र नातेदार मानिने शाक्यलाई पक्राउ गर्न निगरानी बढाएको समाचार स्रोतको दाबी छ । बज्राचार्य र शाक्य दुवैले शरणार्थीका नाममा शंकास्पद आतङ्कवादीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भूमिका खेलेबापत रकम लिएको आरोप छ । तत्कालीन सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जीसीमार्फत मलाई बोलाई २०७६ असोजमा एक करोड नगदै बुझिलिएको भनी उक्त काण्डका नाइकेमध्येका एक प्रमुख मानिएका प्रतिवादी केशवप्रसाद दुलालले आफ्नो बयानमा उल्लेख गरेका छन् ।
बयानकै क्रममा प्रतिवादी दुलालले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जीसीले ‘प्रधानमन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ, ऊर्जामन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जामन्त्रीको क्वाटर पुल्चोकमा बोलाई सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड रुपैयाँ नगदै बुझिलिएको’ खुलाएका छन् । दुलालले तत्कालीन प्रधानमन्त्री केपी ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य (तत्कालीन इजरायलका नेपाली राजदूत अन्जान शाक्यका श्रीमान्) र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले सामाजिक समितिमा भुटानी शरणार्थीको विषयलाई निर्णय गर्न माथि रकम अपुग भयो भनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल बस्ने पुल्चोकमा रहेको मन्त्री क्वाटरमा गृहमन्त्री रामबहादुर थापा बादल र ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग मिटिङ गराइसकेपछि तपाईँहरुको काम हुनेभयो भनी डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले जनही एक करोड रुपैयाँ बुझिलिएका हुन्् भनी किटानी गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघिका सरकारले आपसी सौदाबाजी गरेर आफ्नाजतिलाई जोगाएर परचक्री सबैलाई मुद्दा चलाएको थियो । त्यतिबेलैदेखि जनस्तरमा व्यापक असन्तुष्टि बढेको थियो । सरकारको नेतृत्व फेरिए पनि तीन टाउकेहरुका आफन्त र आसेपासेहरुको संलग्नतामा भएका घोटालाका छानबिन उनीहरुसम्म पुग्ने गरेका थिएनन् । जनतामा बढ्दै गएको त्यही असन्तुष्टि गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका नाममा सडकमा छातछुल्ल भएको थियो । जेन–जी पुस्ताले भ्रष्टाचार रोक्न माग गरेर सडक प्रदर्शन गरेका थिए । त्यसलाई घुसपैठी रक्तरञ्जित बनाए पनि सरकारचाहीँ त्यही भ्रष्टाचारविरोधी जेन–जी प्रदर्शनको जगमा बनेको हो र जेनजीको सम्बोधन गरेको देखाउन र जनमत आफ्नोतर्फ आकर्षित गर्न पनि नक्कली भुटानी शरणार्थीजस्ता काण्डका फाइल फेरि खोल्नैपर्ने बाध्यता आइलागेकाले यसलाई खोलेर कारबाही अघि बढाउने निर्णय गरेको हो र त्यही क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्य र पूर्वसल्लाहकार शाक्यमाथि कडा निगरानी बढाएको बुझिएको छ ।