जनकपुरमा आज पुनः सातदलीय गठबन्धनमा आवद्ध दलहरूले सरकार गठन प्रक्रियामा देखिएको विवाद र सभामुख रामचन्द्र मण्डलविरुद्धको कदमको विरोधस्वरूप प्रदर्शन गरेका छन्। प्रदेशसभा अगाडिनै आयोजित प्रदर्शनमा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
यसअघि सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेपछि प्रदेशसभाभित्रै तनातनी र हातापाइ भएको थियो। सो निर्णयलाई असंवैधानिक र एकपक्षीय भन्दै सातदलीय मोर्चाले आज जनकपुरका विभिन्न भागबाट र्याली निकालेर प्रदेशसभा परिसरमा धर्ना प्रदर्शन गरेका हुन्।
प्रदर्शनलाई नियन्त्रणमा राख्नका लागि अहिले जनकपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मीले संभावित झडप रोक्न सभामुख निवास, प्रदेशसभा परिसर तथा संवेदनशील ठाउँमा सुरक्षा घेरा कडा बनाएको छ।
गठबन्धन दलहरूले सभामुखको निर्णय तुरुन्त फिर्ता गर्न, पदमुक्त गरिएका सांसदहरूको पद पुनःस्थापना गर्न र सरकार गठन प्रक्रियामा ‘संवैधानिक मार्ग’ अपनाउन प्रदेश सरकारलाई दबाब दिएका छन्।
स्थिति अहिले पनि तन्किइरहेको छ र थप राजनीतिक उतार–चढाव हुने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन्।