काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयमा कामकाज गर्नेगरी फिर्ता बोलाएका राजदूतहरू हाल हाजिरी गरेर घर फर्किने गरेका छन् । सरकारले गत कात्तिक १७ गते ११ देशका नेपाली राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन पत्राचार गरेको थियो ।
फिर्ता बोलाइएका राजदूतहरुले कात्तिक २० गतेदेखि परराष्ट्र मन्त्रालयमा हाजिर गर्ने र फर्किने गरेका छन् । फिर्ता बोलाइएका राजदूतमध्ये चार जनाले भने राजिनामा दिएका छन् । सरकार मन्त्रालयमा नै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेपछि सोहीअनुसार नेपाल आएका राजदूतहरूलाई हाजिर गर्ने व्यवस्था मिलाइएको प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । राजिनामा दिएकाहरुको भने राजिनामा स्वीकृत भइसकेको छ । बाँकी राजदूतहरूले भने आफ्नो दैनिकी हाजिर गरेर घर फर्कने गरेका छन् । सर्वाेच्च अदालतको निर्णयको पर्खाइमा रहेको राजदूतहरुको भनाइ छ । गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि सरकारले पत्र पठाउँदै उनीहरूलाई मन्त्रालयमा काजमा बोलाएको थियो ।
सरकारले काजमा बोलाएका राजदूतहरूमा राजदूतहरूमा चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य बेलायत), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) कृष्णप्रसाद ओली (चीन), शैल रूपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नेत्रप्रसाद तिमिल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जङ्गबहादुर चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन) रहेका छन् । उनीहरुमध्ये घिमिरे, रेग्मी, ओली र पौडेलले राजिनामा दिएका छन् ।