कलैया (बारा) । बाराको सिमरा क्षेत्रमा सुरक्षा सम्वेदनशीलता उच्च बनेपछि आज बिहीबार पनि दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार कर्फ्यू क्षेत्र सिमरालाई केन्द्र मानी उत्तरतर्फ पथलैयासम्म र दक्षिणतर्फ जितपुरको लालका पुलसम्म जारी गरिएको छ । प्रशासनले शान्ति(सुरक्षा कायम राख्न सबैलाई संयमित रहन र सहयोग पुर्याउन आग्रह गरेको छ।
जेनजी समूहका युवाहरू र नेकपा (एमाले) का कार्यकर्ताबिच सिमरा चोकमा बुधबार भएको झडपपछि स्थिति तनावपूर्ण बनेको थियो । सोही घटनालाई लिएर थप अशान्ति फैलिन नदिने उद्देश्यले आज पनि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे अनुसन्धान अगाडि बढाउँदै दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले थप संलग्नताका आधारमा अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जानकारी दिएको छ।