दोलखा । जिल्लामा आगामी निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरुको संख्या उत्साहजनक रहेकोे छ । जिल्ला निर्वाचन कार्यालय दोलखाका अनुसार असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म छ हजार छ सय ८७ जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।
कार्यलयका अनुसार एक हजार चार सय जनाले कार्यलयमा आएर नाम दर्ता गरेका छन् भने बाह्य जिल्लाबाट नाम दर्ता गर्नेको संख्या ५९ रहेको छ । त्यसैगरी राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गर्नेको संख्या पाँच हजार दुई सय रहेको छ । सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा चार सय २५ जना नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम जिरी नगरपालिकामा ७५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । त्यसैगरी कालिञ्चोक गाउँपालिका एक सय ७५ जना, वैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकामा नयाँ थपिने संख्या बराबर १५२/१५२ जना रहेकोे छ । त्यस्तै तामाकोशी गाउँपालिकामा एक सय १३ जना, शैलुङ गाउँपालिकामा ९९ जना, विगुमा एक सय एक जना र मेलुङ गाउँपालिकामा एक सय आठ जना जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । त्यसैगरी नामावलीमा बिग्रेको नाम सच्याउनेको संख्या एक सय ८४ जना रहेकोे छ भने नाम सार्नेको संख्या चार सय ५४ जना रहेकोे छ ।