काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले संयुक्त अरब इमिरेट्स स्थित जोयालुक्कास एक्सचेन्जसंग औपचारिक सम्झौता गरेको छ । माछापुच्छ्रे बैंक लि.ले यूएईमा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ यूएई स्थित जोयालुक्कास एक्सचेन्जसंग सहकार्य गरी विधिवत रुपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो । रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा जोयालुक्कास एक्सचेन्जको तर्फबाट महाप्रबन्धक मरिश कुमार कर्ण र माछापुच्छ्रे बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पछि अब यूएईमा रहेका नेपालीहरूले यूएई स्थित जोयालुक्कास एक्सचेन्जका ३० भन्दा बढी शाखाबाट एमबीएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे« बैंकका एक सय ६५ वटा शाखाहरू, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउन्टर तथा हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ । साथै, जोयालुक्कास एक्सचेन्जबाट एमबीएल रेमिट गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकैै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था पनि यस बैंकले मिलाएको छ ।
बैकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ६५ वटा शाखाहरू, शाखारहित बैकिङ्ग सेवा ८८ र ११ एक्सटेन्स काउन्टर समेत गरी जम्मा दुई सय ७४ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९९ वटा एटीएमहरू मार्फत १८ लाख भन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्दै आएको जानकारी दिएको छ ।