काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारलाई थप व्यवस्थित गर्ने भएको छ । मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२ मार्फत धितोपत्र बोर्डले यसलाई प्रभावकारी बनाउने भएको हो ।
यसको मस्यौदा सार्वजनिक गरेको बोर्डले आवश्यक सुझाव समेत मागेको छ । यसको प्रारम्भिक मस्यौदामा धितोपत्र दलाल व्यवसायीमार्फत लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलव्ध गराउने उद्देश्य राखिएको उल्लेख छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी मार्जिन कारोबारका लागि योग्य सेयर, ब्रोकरको योग्यता तथा मार्जिन कल तथा सेयर बिक्रीसम्बन्धी व्यवस्थाहरू मस्यौदामा समावेश छन् ।
यसअनुसार मार्जिन कारोबारका लागि योग्य सेयरअन्तर्गत मार्जिन कारोबार सुविधाको प्रयोजनका लागि संगठित संस्थाको सेयर मात्र योग्य हुनेछ । यसको लागि न्यूनतम ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण भएको हुनुपर्ने, नेटवर्थ चुक्ता पुँजीबराबर र सोभन्दा बढी भएको हुनुपर्ने, पछिल्लो तीन वर्षमा दुई वर्ष लाभांश वितरण गरेको हुनुपर्ने व्यवस्था तोकिएको छ । यसैगरी प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत निष्काशन भएको सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था तोकिएको छ ।
प्रारम्भिक मस्दौदामार्फत बोर्डले मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको योग्यताअन्तर्गत मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहाने बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीको चुक्ता पुँजी कम्तीमा पनि २० करोड रुपैयाँ भएको हुनुपर्ने व्यवस्था गरेको छ । यसबाहेक ब्रोकर कम्पनीले राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्यता प्राप्त गरेको र धितोपत्र बजारले तोकेको अन्य व्यवस्थाहरू समेत पूरा गरेको हुनुपर्ने व्यवस्था तोकेको छ ।
यसैगरी धितोपत्र दलाल व्यवासायीले मार्जिन कारोबार सुविधा दिनुअगावै लेखापरीक्षकबाट प्रमाणित आफ्नो वित्तीय विवरणसहित धितोपत्र बजारमा सहमतिको लागि निवेदन पेस गर्नुपर्नेछ । यसअन्तर्गत धितोपत्र बजारले उपदफा (१) बमोजिम प्राप्त भएको निवेदनका सम्बन्धमा आवश्यक अध्ययन गरी सहमति प्रदान गर्नेछ र सोको जानकारी बोर्डलाई समेत गराउनुपर्नेछ । बोर्डका अनुसार मस्यौदामा उल्लेखित यो निर्देशन लागू हुनुपूर्व धितोपत्र बजारबाट मार्जिन कारोबार सुविधा प्रदान गर्न सहमति लिएका धितोपत्र दलाल व्यवसायीले पुनः सहमति लिइराख्नु पर्नेछैन । तर, यस निर्देशनबमोजिम योग्यता पुगेको कागजात धितोपत्र बजारमा पेस गर्नुपर्नेछ ।
मस्यौदाअन्तर्गत मार्जिन कल तथा सेयर बिक्रीसम्बन्धी व्यवस्थाअन्र्तगत सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण लगानीकर्ताले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद गरेको सेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले लगानीकर्तालाई मार्जिन कल गर्नुपर्नेछ । मार्जिन कल गरेपछि आवश्यक मार्जिन कायम नगरेमा वा सम्पर्कमा नआएमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद गरेको सेयर बिक्री गर्न सक्नेछ । धितोपत्र दलाल व्यवसायीले मार्जिन कल गर्ने तथा सेयर बिक्री गर्नेसम्बन्धी व्यवस्था स्पष्टरूपमा आफ्नो कार्यविधिमा राख्नुपर्नेछ । मस्यौदाअनुसार सेयर बिक्रीपछि सम्बन्धित ग्राहकसँग हिसाव फछ्र्र्याैट गरी सोको जानकारी धितोपत्र बजारलाई गराउनुपर्नेछ । सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण सम्भार मार्जिन कायम हुन आएमा उपदफा ५) बमोजिम धितो बन्धकीमा राखिएको सेयर लगानीकर्ताको अनुरोधमा धितोपत्र दलाल व्यवसायीले फुकुवा गरिदिनुपर्नेछ ।
मार्जिन कारोबार सुविधा दिन धितोपत्र दलाल व्यवसायीको आर्थिक स्रोतअन्र्तगत धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो सेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछ । तर, धितोपत्र दलाल व्यवसायीले सेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण लिँदा प्रचलित कम्पनीसम्बन्धी कानुनमा भएको व्यवस्था पालना गर्नुपर्नेछ मस्यौदामा उल्लेख छ ।
धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुुविधा प्रदान गर्न वाणिज्य बैंकसँग लिएको ऋण आफ्नो सेयरधनी वा सञ्चालकसँग लिएको असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुनुहुँदैन । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहकको नगद तथा सेयरलाई अन्य ग्राहकलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न प्रयोग गर्न पाउने छैन । मार्जिन कारोबार सुविधा प्रदान गर्न सकिने अधिकतम सीमाअन्तर्गत धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्नेछ । धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा २० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नसक्ने मस्यौदामा उल्लेख छ । धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा प्रदान गर्दा लगानी विविधीकरणलाई समेत ध्यान दिनुपर्नेछ ।
मार्जिन कारोबारको राफसाफसम्बन्धी व्यवस्थाअन्तर्गत धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद भएको सेयर दैनिकरूपमा कारोबार गर्दा वा कारोबारपछि वा राफसाफको समयमा पहिचान गरी राख्नुपर्नेछ । मार्जिन कारोबार सुविधा प्राप्त गर्ने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीमार्फत छुट्टै मार्जिन कारोबार खाता र मार्जिन कारोबार हितग्राही खाता खोल्नुपर्ने मस्यौदामा उल्लेख छ ।