काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ७४ लाख ५२ हजार रुपैयाँबराबरको अभौतिक मुद्रा (क्रिप्टो मुद्रा)को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने ४५ वर्षीय उमेश श्रेष्ठ छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार शनिबार काठमाडौं महानगरपालिका–१० बिजुली बजारस्थित केही व्यक्तिले क्रिप्टो मुद्राको कारोबार गरिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूका साथबाट क्रिप्टो मुद्राको कारोबार गर्न प्रयोग भएको विभिन्न कम्पनीका मोबाइल फोन पाँच थान बरामद गरेको छ । पक्राउ परेकाहरूले क्रिप्टो मुद्रा कारोबार गरेको देखिएकाले निजहरूउपर अभौतिक मुद्राको प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।