काठमाडौं । पछिल्लो ११ महिनामा नेपालमा १० लाख ६० हजार पर्यटक भित्रिएका छन् । सन् २०२५ को जनवरीदेखी नोभेम्बरसम्ममा १० लाख ६० हजार ६९ पर्यटक नेपाल भित्रिएका हुन् ।
नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा सामान्य वृद्धि भएको छ । गतवर्ष सोही अवधीमा १० लाख ५५ हजार ५० पर्यटकले नेपाल भ्रमण गरेका थिए । जेनजी आन्दोलनले केही समय धर्मराएको नेपालको पर्यटन क्षेत्र फेरी चलायमान हुन लागेको हो । नेपालमा सबैभन्दा बढी दक्षिण एसिया (सार्क)का पर्यटकहरू भित्रिएका छन् । ११ महिनामा तीन लाख ६८ हजार पर्यटक सो क्षेत्रबाट आएका छन् । यस्तै एसिया अन्य क्षेत्रबाट दुई लाख २५ हजार, युरोपबाट दुई लाख नौ हजार, अमेरिकाबाट एक लाख २७ हजार, आसियान क्षेत्रबाट ४८ हजार, मध्यपूर्वबाट १९ हजार, अफ्रिकाबाट तीन हजार र अन्य क्षेत्रबाट ५७ हजार पर्यटक नेपाल घुम्न आएको बोर्डले जनाएको छ । ११ महिनामा भारतबाट मात्रै दुई लाख ६२ हजार पर्यटक नेपाल भित्रिएका छन् । यस्तै अमेरिकाबाट एक लाख पाँच हजार, चीनबाट ८६ हजार, यूकेबाट ५४ हजार, बंगलादेशबाट ५० हजार, अष्ट्रलियाबाट ४४ हजार पर्यटक ११ महिनामा नेपाल भित्रिएको बोर्डले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ ।
बोर्डका अनुसार सन् २०२५ को नोभेम्बरमा मात्रै एक लाख १६ हजार पाँच सय ५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नोभेम्बरमा प्रमुख पर्यटक गन्तव्य मुलुकमा सबैभन्दा बढी भारतबाट १८ हजार नौ सय ९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार दुई सय ५४, चीनबाट सात हजार आठ सय ७१, बेलायतबाट सात हजार एक सय ८९, बंगलादेशबाट पाँच हजार छ सय ५३, अष्ट्रेलियाबाट पाँच हजार तीन सय ९३, श्रीलंकाबाट चार हजार आठ सय ३१, म्यानमारबाट चार हजार चार सय ८४, फ्रान्सबाट चार हजार दुई सय ११ र जर्मनीबाट चार हजार एक सय ३४ पर्यटक भित्रिएका हुन् । क्षेत्रगत रूपमा दक्षिण एसियाली मुलुकबाट ३० हजार आठ सय ७०, एसियाली अन्य मुलुकबाट २८ हजार छ सय १३, युरोपबाट पाँच हजार आठ सय ९१, अमेरिकाबाट १३ हजार छ सय ७८, मध्य पूर्वी मुलुकबाट एक हजार आठ सय दुई, अफ्रिकाबाट चार सय १२ र अन्य मुलुकबाट छ हजार दुई ६९ पर्यटक भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यो महिनालाई मुख्य पर्यटकीय याम मानिन्छ । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने अगस्टमा ८८ हजार सात सय ८० पर्यटक नेपाल भित्रिएका थिए ।