कर्णाली, कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा स्वीकृत गरिएको छ। माओवादी केन्द्र संसदीय दलको बुधबार बसेको बैठकले शर्माले दिएको राजीनामालाई स्वीकृति प्रदान गरेको प्रदेश सभा सदस्य रणसिंह परियारले जानकारी दिए।
दलको बैठक प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको थियो। बैठकले नयाँ दलका नेता छिट्टै चयन गर्ने निर्णय पनि गरेको छ। नेता शर्माले बिहीबार बिहान मात्र दलका सचेतक जिसीलाई सम्बोधन गर्दै ह्वाट्सएपमार्फत राजीनामा पठाएका थिए। उनले राजीनामा दिनुको कारण खुलाएका छैनन्।
‘म राजकुमार शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँछु,’ भनेर उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। पूर्व मुख्यमन्त्री समेत रहेका शर्मा रुकुम पश्चिम–‘ख’बाट प्रदेश सभा सदस्यका रूपमा निर्वाचित भएका थिए। उनी माओवादी केन्द्रका वरिष्ठ नेता जनार्दन शर्माका भाई पनि पर्छन्।