इस्लामावाद । पाकिस्तानले अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय राहत आपूर्तिलाई अस्थायी अनुमति दिने तयारी गरी रहेको अधिकारीहरूले बिहीबार बताएका छन् । गत अक्टोबरमा दुई छिमेकीहरूबीच भएको घातक झडप पछि पहिलो पटक आंशिकरुपमा सीमा खोल्न लागिएको उनीहरुले बताएका छन् ।
सन् २०२१मा तालिबान अधिकारीहरूले काबुलमा पुनः नियन्त्रण लिएदेखि यी देशहरू बढ्दो विवादमा फसेका छन् । अफगानिस्तान सरकारले इस्लामावादले सीमापार आक्रमण गर्ने आतंकवादीहरूलाई शरण दिएको आरोप लगाएको छ भने इस्लामावादले आरोपको अस्वीकार गरेको छ । संयुक्त राष्ट्रका एजेन्सीहरूको औपचारिक अनुरोधको जवाफमा पाकिस्तान सरकारले अफगानिस्तानमा सहयोगको आवागमनलाई अनुमति दिने तयारी भएको एक जना सरकारी अधिकारीले नाम नछाप्ने सर्तमा बताएको एएफपीले जनाएको छ ।
आपूर्तिमा खाना, औषधि र चिकित्सा उपकरण, र स्वास्थ्य र शिक्षासँग सम्बन्धित अन्य आवश्यक सामानहरू समावेश रहेको अधिकारीले बताएका छन् । अधीकारीका अनुसार सहायता हस्तान्तरण तीन चरणमा हुनेछ । यसै बिच संयुक्त राष्ट्र संघका एक अधिकारीले पनि सहायता चाँडै अफगानिस्तानमा प्रवेश गर्न अनुमति दिइने पुष्टि गरेका छन् ।
अक्टोबरमा भएको द्वन्द्व पछि सीमा बन्द गरिएको छ, भने पाकिस्तानबाट निष्कासन गरिएका अफगानहरूलाई मात्र सीमा पार गर्न अनुमति दिइएको छ । पाकिस्तानी अधिकारीले सीमामा सबै व्यापार बन्द रहने र सहायताका लागि आंशिकरूपमा सशर्त खोल्ने बताएका छन् । पाकिस्तानले अफगानिस्तानसँग सामान्य व्यापार वा आप्रवासनका लागि नभई अत्यावश्यक सामाग्री ल्याउनका लागि मात्र अस्थायी रुपमा सीमा खोलेको अधिकारीले प्रस्ट पारेका छन् ।
विश्व बैंकका अनुसार पाकिस्तान अफगानिस्तानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, जसले चामल, औषधि र कच्चा माल आपूर्ति गर्दछ । रासस/एएफपी