मनिला । एसियाली विकास बैंक (एडीबी)ले शनिबार पाकिस्तानको पञ्जाब प्रान्तमा कृषि, शिक्षा र स्वास्थ्य परियोजनाका लागि ३८ करोड १० लाख अमेरिकी डलरको तीन परियोजनाहरू स्वीकृत गरेको छ । सिन्ह्वाका अनुसार एडीबीले पञ्जाव प्रान्तमा परियोजनाको माध्यामबाट आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ, जुन देशको जनसंख्या र आर्थिक गतिविधिको आधाभन्दा बढी हो ।
परियोजनामा समावेश १२ करोड डलरको ऋण, ४० लाख डलरको अनुदानले विपत् र कार्बन उत्सर्जन न्यूनिकरणलाई सघाउनुको साथै दुई लाख २० हजार ग्रामीण कृषक परिवारहरूलाई लाभान्वित गर्नेछ । परियोजनाले कृषिलाई यान्त्रिकीकरण गरी वैकल्पिक जीविको पार्जन प्रदान गर्ने १५ हजार महिलाको सीप बढाउने तथा साना किसानहरूलाई उन्नत मेसिनरीसहित नयाँ वित्तीय प्रणाली प्रस्तुत गर्ने जनाइएको छ ।
पन्जाबले मात्र पाकिस्तानको ७५ प्रतिशत गहुँ, ६९ प्रतिशत चामल र ९१ प्रतिशत मकै उत्पादन गर्ने जनाइएको छ । शिक्षामा, एडीबीले माध्यमिक शिक्षाको आधुनिकीकरण गर्न र पञ्जाब विद्यालय शिक्षा विभागअन्तर्गत समावेशी कार्यक्रमहरू विस्तार गर्न, गुणस्तरीय शिक्षामा पहुँच वृद्धि गर्न १० करोड डलर ऋण र सात करोड डलर अनुदान स्वीकृत गरेको जनाइएको छ ।