काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुनेले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले फागुन २० गतेलाई कट अफ डेट निर्धारण गरेको हो । आयोगले निर्वाचनको तयारी स्वरूप मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न आवश्यक मिति तथा प्रक्रिया पनि सार्वजनिक गरेको छ । आयोगको निर्णयअनुसार मंसिर ५ गतेसम्म देशभरबाट संकलित मतदाता विवरण अद्यावधिक गरिने भएको हो । उक्त समयमा संकलित विवरण आयोगको वेबसाइटमा प्रकाशित भएपछि मतदाताले आफ्नो विवरण प्रमाणित गर्न, त्रुटि सच्याउन वा उजुरी दिन सक्ने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार आयोगले प्रकाशित नामावलीमा त्रुटि वा दोहोरो नाम देखिएमा मंसिर २६भित्र दाबी–विरोध दर्ता गर्ने व्यवस्था मिलाएको छ । यस अवधिमा मतदाताले नाम, उमेर, ठेगाना लगायत त्रुटि सच्याउन निवेदन दिन सक्नेछन् ।
यस्तै झुट्टा विवरणमार्फत नाम समावेश भएको दाबी भए उजुरी दर्ता गर्न सक्ने, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा भए एक स्थानमा मात्र कायम गराउन अनुरोध गर्न सक्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन सक्नेछन् । दाबी–विरोधको प्रक्रिया पूरा भएपछि अन्तिम मतदाता नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।