काठमाडौं । म्यानमारमा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रहरूमा अलपत्र परेका ४७ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ ।
उनीहरुलाई बुधबार थाइल्याण्डको बैंककबाट नेपाल एयरलाइन्सको उडान आरए ४०२ मार्फत नेपाल फकाईएको नेपाली राजदूतावास बैंककले जनाएको छ । दूतावासले थाइल्याण्डका सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा उनीहरूलाई उद्धार गरेको हो । २६ जिल्लाका ४५ पुरुष र दुई महिला गरी ४७ जनालाई उद्धार गरिएको दूतावासले जनाएको छ । १७ वर्षदेखि ४१ वर्षसम्मका उनीहरू मध्ये सबैभन्दा धेरै २० देखी २५ वर्ष उमेरका २६ जना रहेको छन् । धेरैजसो कक्षा १२ पास तथा सूचना–प्रविधि सम्बन्धी अध्ययन गरेका युवाहरू रहेको दूतावासले जनाएको छ । उनीहरूलाई दुई महिनादेखि १८ महिनासम्म विभिन्न स्क्यामिङ गतिविधिमा जबरजस्ती संलग्न गराइएको पाइएको छ ।
दूतावासका अनुसार उनीहरूलाई विभिन्न अनलाइन डेटिङ, क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीजस्ता कार्यमा लगाइएको थियो । सुरूमा सामाजिक सञ्जाल, अनलाइन साथी, गेम खेल्ने साथी तथा चिन्नजानका व्यक्तिबाट आकर्षक तलबको प्रलोभन देखाइ झुक्याएर स्क्यामिङ केन्द्रसम्म लैजाने गरिएको पीडितहरूले बताएका छन् । भारत, दुवई लगायत देशमा बस्दै आएका साथीमार्फत पनि अनेक युवक–युवती त्यहाँ पुगेको जनाइएको छ । स्क्यामिङ केन्द्रमा पुगेपछि केही महिना सामान्य काम दिएर पछिल्लो चरणमा ‘टार्गेट’ पूरा गर्न दवाव बढाउने, लक्ष्य पूरा नभएमा अपराधको झूटो आरोप लगाई आर्थिक तथा शारीरिक यातना दिने, बन्धक बनाएर परिवारसँग फिरौती माग्ने, जेल हाल्ने वा हत्या गर्नेसम्मका धम्की दिने गरिएको खुलेको छ । केन्द्रबाट बाहिर निस्कन खोजेमा ‘सट्टा व्यक्ति’ ल्याउनुपर्ने बाध्यता राख्ने र नल्याएसम्म नछोड्ने गरिएको पाइएको दतावासले जनाएको छ ।
यसअघि कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड–सीमा क्षेत्रका स्क्यामिङ केन्द्रमा नेपाली फस्न थालेपछि राजदूतावासले २०८० साउन २३ गतेदेखि यात्रा सचेतना जारी गरेको थियो । त्यही सचेतना अभियानसँगै थाइल्याण्ड सरकारसँगको सहकार्यमा मानव तस्करका पीडितका रूपमा उद्धार प्रक्रिया सञ्चालन हुँदै आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ६८ जना, २०८१/०८२ मा १५६ तथा चालु आर्थिक वर्षमा अहिले सम्म एक सय ४१ जना नेपाली उद्धार गरी नेपाल पठाइएको दूतावासद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ ।
दूतावासका अनुसार थाइल्याण्ड सरकारले म्यानमार–थाइल्याण्ड सीमाबाट विदेशी नागरिकको स्वदेश फिर्ती सुनिश्चित गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) लागू गरेको छ । सोही प्रक्रिया अनुसार म्यानमारका अधिकारीमार्फत जानकारी संकलन, राजदूतावासमार्फत कागजी प्रक्रिया, थाइल्याण्डको माइसोट अध्यागमन हुँदै स्वास्थ्य जाँच तथा स्क्रिनिङ सम्पन्न गराइ नेपालीलाई स्वदेश पठाइएको हो । थाइल्याण्ड सरकारले उद्धार गरिएका व्यक्तिहरू स्वदेश पुगेपछि वास्तविक तस्करी सञ्जालको पहिचान तथा कारबाही गर्न सम्बन्धित देशका अधिकारीलाई आग्रह गरेको छ ।
दूतावासले सामाजिक सञ्जाल, साथीभाई वा अनधिकृत व्यक्तिले प्रस्ताव गरेको वैदेशिक रोजगारीमा विश्वास नगर्न र श्रम स्वीकृतिविना विदेश नजान सबै नेपालीलाई पुनः आग्रह गरेको छ ।