काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेसन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका बिरुवा रोप्ने घोषणा गरेको छ ।
कलेजका अनुसार खेलमा हरेक चौकामा चार र हरेक छक्कामा छवटा गरी कफीका बिरुवा रोप्ने निर्णय गरिएको हो । कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्ने कलेजका अध्यक्ष लक्ष्मण केसीले बताए । बिरुवा रोप्नको लागि स्थान भने अझै निश्चित नगरिएको कलेजले जनाएको छ । उपयुक्त भू–भाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको जनाइएको छ । कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवद्र्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो ।