काठमाडौँ । बैंकिङ क्षेत्रको कुल निक्षेप बढेको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूमा रहेको कुल निक्षेप तीन दशमलव एक प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब ३८ करोड रुपैयाँले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई दशमलव तीन प्रतिशत अर्थात एक खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३ दशमलव चार प्रतिशतले बढेको छ ।
चालू आववको कात्तिक मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ प्रतिशत, ३९ दशमलव दुई प्रतिशत र ४५ दशमलव छ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच दशमलव तीन प्रतिशत, ३२ दशमलव आठ प्रतिशत र ५४ दशमलव पाँच प्रतिशत रहेको थियो । २०८२ कात्तिक मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव पाँच प्रतिशत रहेको छ । गत वर्ष कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३५ दशमलव आठ प्रतिशत रहेको थियो ।
बैंक तथा कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने चालू आवको पछिल्लो चार महिनाको अवधिमा एक दशमलव दुई प्रतिशत अर्थात ६५ अर्ब चार करोड रुपैयाँले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ अर्थात् दुई दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव नौ प्रतिशतले बढेको छ । चालू वर्ष कात्तिक मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव छ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव एक प्रतिशत र ३५ दशमलव नौ प्रतिशत रहेको थियो ।
चालू आवको पछिल्लो चार महिनामा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको र फाइनान्स कम्पनीहरूको कुल कर्जा प्रवाह एक दशमलव तीन प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव एक प्रतिशतले घटेको छ । २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४ दशमलव चार प्रतिशत रहेको छ । २०८१ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३ दशमलव पाँच प्रतिशत र ६६ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को चार महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा तीन दशमलव दुई प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा दुई दशमलव नौ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक दशमलव नौ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा एक दशमलव सात प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा शून्य दशमलव चार प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा शुन्य दशमलव एक प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा दुई दशमलव छ प्रतिशत र वित्त विमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा दुई दशमलव पाँच प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो चार महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा तीन दशमलव नौ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) तीन दशमलव चार प्रतिशत, क्यास क्रेडिट कर्जा एक दशमलव आठ प्रतिशत, हायर पर्चेज कर्जा एक दशमलव तीन प्रतिशत, माग तथा अन्य चालू पुँजी कर्जा एक दशमलव एक प्रतिशत र आवधिक कर्जा शून्य दशमलव प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा चार दशमलव नौ प्रतिशत र ट्रस्ट रिसिट अर्थात् आयात कर्जा दुई दशमलव एक प्रतिशतले घटेको छ ।