काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बीच पाँच घण्टा लामो भेटवार्ता भएको छ । सोमबार राति कमलादीस्थित रास्वपा नेता अशिम शाहको निवासमा दुवै पक्षबीच छलफल भएको हो । भेटवार्ताका लागि दुवै नेता राति करिब ८ बजे अशिम शाहको घर पुगेका थिए भने उनीहरू राति १ बजे त्यहाँबाट निस्किएका थिए । वार्तापछि दुवै नेता एउटै गाडीमा निस्कँदै सञ्चारकर्मीहरूलाई एकसाथ हात हल्लाएर अभिवादन गरेका थिए । वार्तामा मेयर बालेन साहको तर्फबाट कुमार बेन र निश्चल बस्नेत सहभागी थिए भने रवि लामिछानेको तर्फबाट अशिम शाह र पार्टी उपसभापति डिपी अर्याल सहभागी रहेका थिए । दुवैबीच भएको छलफलको औपचारिक विवरण सार्वजनिक गरिएको छैन । तर, भेटवार्तामा मध्यस्थता गरेका रास्वपा नेता अशिम शाहले यसलाई ‘सुखद् सुरुवात’का रूपमा व्याख्या गरेका छन् । अशिम शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लेखेका छन्, ‘अन्ततः कथाको सुखद् सुरुवात भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’ रास्वपा र काठमाडौं महानगरपालिकाका प्रमुखबीच भएको यो भेटवार्तालाई पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।