काठमाडौं । घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । उक्त इँटालाई ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको छ ।
यसअघि सन्२००७ जुलाई ४ मा अमेरिकाको टेक्सासमा लम्बाइ २.९४ मिटर (९ फिट ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) रहेको इट्टा निर्माण भएको थियो । यही आकारलाई अझै ठूलो बनाउने उद्देश्यले कीर्तिमान कायम राख्ने गरि इट्टा निर्माण गरिएको हो । यही पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रर्दशनीमा ४० हजार बढी दर्शकले सहभागिता जनाउनेछन् । यो इँट्टा पूर्णरूपमा नेपाली कच्चा पदार्थ, नेपाली कालीगढको सीप र नेपाली प्रविधि–सोचको प्रयोगबाट तयार गरिएको हो । यस परियोजनामार्फत नेपालले आफ्नो निर्माण कला र नवप्रवर्तन क्षमता विश्वसामु प्रस्तुत गर्ने अवसर पाएको छ ।
घर निर्माण फेस्टमा राखिने विश्वकै सबैभन्दा ठूलो इट्टा केवल प्रदर्शनका लागि मात्र नभई दर्शकको प्रत्यक्ष अवलोकनका लागि खुला रहनेछ । यस ऐतिहासिक इट्टालाई नजिकबाट हेर्न, यसको आकार, बनावट र विशेषता बुझ्न पाउनेछन् । साथै, यस महत्वपूर्ण क्षणलाई सम्झनाका रूपमा सुरक्षित गर्न दर्शकले फोटो खिच्न सक्ने व्यवस्था गरिएको छ । यसले दर्शकको उत्साह बढाउनुका साथै ऐतिहासिक उपलब्धिको साक्षी बन्ने अवसर पनि प्रदान गर्नेछ । अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीका छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् ।
प्रदर्शनीमा सहभागी हुने विभिन्न ब्राण्डले ग्राहक लक्षित विशेष अफरहरु समेत सार्वजनिक गर्ने तयारी गरेका छन् । नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित फेस्ट गर्न लागिएको हो ।