मुगु जिल्लामा इन्फ्लुएन्जा र श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढेसँगै जिल्ला अस्पतालमा आपतकालीन अवस्था सिर्जना भएको छ। स्थानीय स्रोतका अनुसार हाल दैनिक २०० भन्दा बढी बिरामी उपचारको लागि अस्पताल पुगिरहेका छन्, तर अस्पतालमा जम्मा ५० शय्या मात्र उपलब्ध छन्।
अस्पतालको एक्सरे मेसिन लामो समयदेखि बिग्रिएको छ भने आवश्यक औषधि र मेडिकल उपकरणको गम्भीर अभाव छ। अक्सिजन प्लान्टसमेत सञ्चालनमा नरहेको कारण गम्भीर बिरामीको उपचारमा ठूलो चुनौती देखिएको स्थानीयले बताए।
प्रकोपकै बीच राराछायानाथ नगरपालिका वडा नम्बर १२, बाम गाउँमा १७ दिनभित्र मात्रै ५ जनाको मृत्यु भइसकेको छ, जसमा शिशु र साना बालबालिकासमेत छन्। स्थानीय युवाहरूले केन्द्र सरकारको स्पष्ट र प्रभावकारी हस्तक्षेप नदेखिएको भन्दै प्रश्न उठाएका छन्।
युवाहरूले मन्त्रीसमक्ष बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र एक्सरे मेसिन मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा र श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि तथा उपकरण आपूर्ति गर्न माग गरिएको छ।साथै, हालको ५० शय्या क्षमतालाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्नुपर्ने माग पनि राखिएको छ।
युवाहरूले २०६६ सालको जाजरकोट केन्द्रित झाडापखालारहैजाको महामारीको स्मरण गराउँदै समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकारलाई तत्काल कदम चाल्न आह्वान गरेका छन्। स्थानीयहरूले मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको भन्दै ढिलाइ नगरी प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन्।