काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी फागुन २१ का लागि प्रस्तावित निर्वाचनमा उम्मेदवार नबन्ने घुर्की देखाएका छन् । बिहीबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले उम्मेदवार नै नबन्ने बताएका थिए भने गगनले पनि प्रतिनिधिसभा निर्वाचनअघि पार्टी महाधिवेशन नभए चुनाव नलड्ने बताएका हुन् ।
फागुन २१ अघि पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने उनले अडान राखेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । उनका अनुसार बैठकमा गगनले भने, ‘चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ । नेतृत्व फेरिएन भने चुनावमा जान सम्भव छैन ।’
नेतृत्व परिवर्तनविनदा चुनावमा जाँदा कांग्रेसलाई घाटा पर्ने उनको भनाइ छ । उनीभन्दा अघि नै अर्का महामन्त्री विश्वप्रकाश शर्माले आगामी चुनावमा उम्मेदवारै नबन्ने घोषणा गरिसकेका थिए । झापा १ बाट एकल सिफारिस भए पनि चुनाव नलड्ने बताएका थिए । उनले बुधबार झापामै आयोजित क्षेत्रीय भेलामा उक्त क्षेत्रबाट उम्मेदवार बन्न चाहनेको खोजी गरेका थिए ।
शर्माले नयाँ पंक्तिलाई चुनावमा अघि सार्ने उल्लेख गरेका थिए । जहिल्यै एकै व्यक्ति उम्मेदवार बनिरहने प्रवृत्तिको अन्त्य गर्न यस्तो निर्णय गरेको बताएका छन् । ‘म लगातार तीनपटक उम्मेदवार बनिसकेको छु’, उनले भने, ‘यो पटक आफू उम्मेदवार नबनेर अरु साथीहरुलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको छु ।’