गण्डकी । विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार पोखरामा आयोजना गरेको विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रियाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिमा आमूल परिवर्तन आउनुपर्ने बताएका छन् ।
उनले देश निर्वाचनतर्फ लागिसकेका अवस्थामा राजनीतिमा परिवर्तन ल्याउन सही नेतृत्व चयन गर्नुपर्ने बताए । निर्वाचन सुनिश्चित भइसकेको बताउँदै मन्त्री खरेलले सोमबार राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाउने विश्वास व्यक्त गरे । व्यक्ति बनेर केही हुँदैन देश बन्नुपर्छ भन्दै उनले यसका लागि विवेकसङ्गत र सही नेतृत्व आउनुपर्ने आवश्यकता औँल्याए ।
सङ्घीयताको व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै उनले राजनीतिकको जग स्थानीय सरकार भएको बताए । मन्त्री खरेलले स्थानीय तह जवाफदेही हुँदा मात्र जनताप्रतिको जिम्मेवारी पूरा हुने स्पष्ट पारे । पेसागत सक्रियतासँगै परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय सरकारको अनुभूति जनताले गर्न पाउनुपर्ने बताए ।