कास्की । व्यावसायको काम गर्दै आएका वाई यु के कन्स्ट्रक्सन नामक कम्पनीका सञ्चालक युवराज खतिवडालाई अभद्र व्यवहार गरेको भन्दै झुटो मुद्दामा थुनामा राखेर ‘बार्गेनिङ’ गरिरहेको खुलेको छ ।
केही दिनअघि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातयात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीसँगको व्यापारिक सम्झौताको आधारमा खतिवडाले केसीको नाममा रहेको पोखराको फेवातालबाट निकै पर रहेको पामे क्षेत्रमा रहेको आवास क्षेत्रमा माटो पुर्ने कार्य गरेका थिए ।
सोही ग्राबेल लिएर जाँदै गरेको अवस्थामा प्रहरीले खतिवडाको स्वामित्व रहेको वाइयुके कन्स्ट्रक्सनका टिपरले बोकेर आइरहेको ग्राबेललाई रोकेको थियो । त्यति नै बेला उनले यो ग्राबेललाई प्रहरीले अवरोध गर्न पाउँदैन भनेर प्रश्न गरेको विषयलाई अभद्र व्यवहार गरेको भन्दै वडा प्रहरी कार्यालय बैदामको टोलीले उनलाई पक्राउ गरेको थियो । माथिको आदेश भन्दै उनलाई गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश आचार्यको निर्देशनमा पक्राउ गरिएको थियो ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवराज भट्टराईले खतिवडाविरुद्ध जाहेरी उजुरी नै नपरे पनि प्रहरीको आदेश उलंघन गरेको अभियोगमा पक्राउ गरेको बताए । प्रहरीको आदेश उलंघनलाई अभद्र व्यवहार भनी मुद्दा चलाइएको घटनाले प्रहरीको भूमिकामाथि नै प्रश्न उठाएको छ ।
अदालतले पक्राउ पुर्जी जारी गरेको वा जघन्य अपराधको मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्नुपर्ने प्रहरीले निर्माणको काम गर्ने निर्माण व्यवसायीलाई झुटो मुद्दामा पक्राउ गरेको हो ।
गत पुस ७ गते सोमबार स्थानीय प्रदेश सांसद समेत रहेका प्रकाश केसीले आफ्नो जग्गामा माटो पुरिदिन भन्दै पारिश्रमिक समेत दिएर माटो सम्याउनका लागि उनको सवारीसाधन त्यहाँ पुगेको थियो ।
खतिवडालाई पक्राउ गनुअघि केही माओवादी निकट भनिएका व्यक्तिहरूले माटो पुर्ने कार्यको ५० प्रतिशत हिस्सा र प्रतिरोपनी २५ हजारदेखि एक लाख रुपैयाँ माग गरेको स्रोतले जानकारी दिएको छ । तीनै माओवादी निकट कार्यकर्ताको योजनामा डीआईजी दिनेश आचार्य दुरुपयोग भएको स्रोतले बताएको छ ।
डीआईजी आचार्यले तनहुँलगायतका जिल्लाहरूमा आफ्ना घुमुवा खटाएर उठौती धन्दा गर्दै आएका छन् । हाल आईजी रहेका दानबहादुर कार्कीकै ब्याची रहेका आचार्यले कार्कीको आदेश समेत उलंघन गर्दै आएका छन् । पोखरा महानगरले आयोजना गरेको छलफलमा महानगरका मेयर धनराज आचार्यले खतिवडालाई वन मुद्दा समेत लगाउन दबाब दिएको भिडियो नै सार्वजनिक भएको छ ।
वनका अधिकारीहरू भने वन मुद्दा नलाग्ने बताउँछन् । कुनै मुद्दा बन्नका लागि घटनास्थल मुचुल्का र वरामदी मुचुल्कामा मुद्दासम्बन्धी प्रमाण हुनुपर्छ । तर, अभद्र व्यवहारको मुद्दामा हिरासतमा राखेर वनको मुद्दा लगाउनु कानुनविपरित हुने भन्दै वन कार्यालयका अधिकारीहरूले अस्वीकार गर्दै आएका छन् ।
स्रोतका अनुसार खतिवडालाई केही दिनअघि माओवादी निकट केही व्यक्तिहरूले माटो पुर्ने ठेक्कामा ५० प्रतिशत भागबण्डा माग गरेका थिए । तर, उनले आफूले बैंकबाट ऋण लिएर टिपर, डोजर र स्क्याभेटरलगायतमा लगानी गरेको आफूले गर्ने काममा कसैलाई पनि भागबण्डा नदिने बताएपछि सो समूहले खतिवडालाई पक्राउ गरेर थुनाउने धम्की दिएका थिए ।
कास्की प्रहरीले कुनै जाहेरी वा उजुरीविनै उनलाई सोमबार थुनामा राखेपछि सो गिरोहको सुनियोजित योजनामा प्रहरी शक्ति दुरुपयोग भएको आशंकालाई पुष्टि गरेको छ ।
प्रत्यक्षदर्शीका अनुसार बैदाम प्रहरीको इन्सपेक्टरको नेतृत्वमा उनलाई पक्राउ गर्न प्रहरी पुगेपछि उनी आफ्नै गाडीमा प्रहरी कार्यालय पुगेका थिए । छलफलका लागि भनेर बोलाएपछि उनी आफैँ पुगेपछि प्रहरीले अभद्र व्यवहारको झुटो मुद्दा लगाएको हो । मुटुको भल्व फेरिएको बिरामी समेत रहेका उनलाई पोखराकै फिस्टेल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, भर्ना भएको ५औँ दिनमा डीआईजी आचार्यकै निर्देशनमा खतिवडालाई जबरजस्ती डिस्चार्ज गराइएको थियो । दिनभर बैदामस्थित हिरासतमा राखिएको समयमा उनी अचेत भएपछि उनलाई पुन गण्डकी मेडिकल कलेज अस्पतालमा आपत्कालीनरूपमा पु¥याइएको थियो । त्यहाँ उनलाई सीसीयूमा राखेर उपचार गर्नुपरेको थियो । डीआईजी आचार्यले मेयर धनराज आचार्यसँगको मिलेमतोमा खतिवडामाथि ज्यादती गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका छन् । सामान्यत सरकारी वकिल र प्रहरीमा बयान सकिएपछि समेत उनलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
खतिवडालाई हिरासतमा राखिएपछि प्रहरी र महानगर प्रहरीले संयुक्तरूपमा खतिवडाका सम्पूर्ण स्क्याभेटर र टिपरमाथि चेन लगाएर लक गरिएको थियो । तर, लक गरेर राखिएको ती सवारीसाधनमा महानगरकै प्रहरी र गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश आचार्यको निर्देशनमा तोडफोड समेत भएको छ । तोडफोडपछि तीन स्क्याभेटरको सिसा फुटेको छ ।
खतिवडाको सवारीसाधनलाई लक लगाएर माओवादी निकट व्यक्तिहरूले भने खुलमखुला सिमसार क्षेत्र पुर्ने काम गरिरहेका छन् । मेयर आचार्य र डीआईजी आचार्यकै मिलेमतोमा बाराही समूहले सेदी डाँडा नै काटेर पोखराको सिमसार क्षेत्र पुरेको छ । पोखराकै केही पत्रिकामा माटोको विज्ञापन समेत गरेर उक्त माटो अधिकांश पोखराको सिमसार क्षेत्र पुर्ने कार्यमा लगाइएको थियो । यो कार्य हुँदा भने मेयर आचार्य सहयोगी भूमिकामा थिए । बाराही समूहले डाँडा कटान गरेर माटो पुरेर सकिएपछि मेयर आचार्यले नाटकीयरूपमा खतिवडालाई पक्राउ गर्न लगाएर आफूले फेवाताल जोगाएको जस लिएका छन् ।
महालेखा परीक्षकको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार मेयर आचार्यकै मिलेमतोमा पोखराको विमानस्थल नजिकै रहेको छिने डाँडा कटान गरेको माटोले मैदी ताल नै पुरिएको थियो । ताल पुर्ने कार्यमा आफै संलग्न भएका आचार्यले खतिवडालाई पक्राउ गरेपछि भने विभिन्न मुद्दा लगाउन दबाब दिँदै आएका छन् ।
त्यसो त सरस्वती पहारीले आफ्नो जग्गामा माटो पुरिदिन खतिवडालाई ठेक्का दिएपछि खतिवडाले माटो पुरेको घटनामा मेयरले नगर प्रहरी लगाएरै खतिवडाका मेसिनहरू नियन्त्रणमा लिइएको थियो ।
तर, पहारीले उच्च अदालत पाटनमा निवेदन दिएपछि महानगरले तुरुन्तै खतिवडाका निर्माण सवारी फिर्ता गर्न आदेश दिएको थियो भने पीडितलाई आफ्नो जग्गामा माटो पुर्न अवरोध नगर्न आदेश दिएको थियो । अदालतले दिएको आदेश समेत उलंघन गर्दै आएका मेयर आचार्यले यतिबेला भने प्रहरी र वन कार्यालयलाई समेत दुरुपयोग गरेर खतिवडालाई गैरकानुनीरूपमा हिरासतमा राखेका छन् ।