जनकपुरधाम, भदौ २२
धनुषामा थप एक साता लागि निषेधाज्ञा बढाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आइतबार राति १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई आगामी भदौ २८ गते राति १२ बजेसम्मका लागि बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईको अध्यक्षतामा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले ढल्केवर मुजफ्फरपुर प्रशारण लाइन चार सय केभीमा सञ्चालन भई दल्केवर चार सय केभी सबस्टेसन पनि निकट भविष्यमा सञ्चालनमा आउने भएकोले ढल्केवर सबस्टेसनमा नेपाली सेना राखी आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध शाखामा माग गरी पत्राचार गर्ने निर्णय समेत गरिएको छ । उक्त स्थानमा विद्युत् प्राधिकरणको ठूला लगानी र धेरै सम्पत्ति भएकाले सुरक्षा प्रदान गर्न माग गरिने भएको हो ।