काठमाडौं । कुल बीमाशुल्क आर्जन रकम बढेर झण्डै एक खर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनासम्म १४ निर्जीवन र १४ जीवन बीमा गरी २८ कम्पनीले कुल ९८ अर्ब ७६ करोड १५ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
यो रकम गत आवको सोही अवधिको तुलनामा १८ दशमलव शून्य पाँच प्रतिशत अर्थात् १५ अर्ब नौ करोड ९६ लाख २८ हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूले कुल ८३ अर्ब ६६ करोड १९ लाख ६७ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरसम्म जीवन बीमा कम्पनीहरूले मात्र कुल ७८ अर्ब ७७ करोड ५८ लाख ९७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १९ दशमलव १० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ६६ अर्ब १४ करोड ५३ लाख ३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
त्यसैगरी निर्जीवन बीमा कम्पनीहरूले पनि मंसिरसम्म कुल १९ अर्ब ९८ करोड ५६ लाख ९८ हजार रुपैयाँ संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १४ दशमलव १० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल १७ अर्ब ५१ करोड ६६ लाख ३५ हजार आर्जन गरेका थिए ।
मंसिरसम्म जीवन बीमा कम्पनीहरूमा कुल सक्रिय जीवन बीमालेखको संख्या उल्लेख्यरूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या तुलनात्मकरूपमा कम छ । जीवन बीमा कम्पनीहरूमा मंसिरसम्म एक करोड ६१ लाख ६७ हजार आठ सय ५४ वटा सक्रिय जीवन बीमालेको संख्या छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल एक करोड ३८ लाख ३८ हजार आठ सय ८७ वटा सक्रिय जीवन बीमालेखको संख्या रहेको थियो ।
प्राधिकरणका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमा कुल जारी बीमालेखको संख्या भने २९ लाख ८९ हजार तीन सय ८५ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ३२ दशमलव ७१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा जारी बीमालेखको संख्या २२ लाख ५२ हजार छ सय ५७ रहेको थियो । चालू आर्थिक मंसिर मसान्तसम्ममा कुल निर्जीवन बीमालेखको संख्या भने १३ लाख ४१ हजार सात सय सात पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ५९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूमा कुल निर्जीवन बीमालेखको संख्या १२ लाख ७० हजार छ सय ५७ रहेको थियो ।
प्राधिकरणका अनुसार चालू आवको मंसिर मसान्तसम्ममा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत भने म्यादी, लघु म्यादी र बैदेशिक रोजगार जीवन बीमालेखसहित ४९ दशमलव ७६ प्रतिशत रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा छ दशमलव शून्य चार प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४३ दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।