काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको टोलीलाई लिखित बयान दिएका छन् । आइतबार उनले आफ्नो निवास भक्तपुरस्थित गुण्डुमा पुगेको आयोगको टोलीलाई लिखित बयान दिएका हुन् ।
उनले लिखितरूपमा जेन–जी आन्दोलनका घटना विवरण बयानमा उल्लेख गरेको बताइएको छ । जाँचबुझ आयोगको टोली पत्रसहित ओली निवासमा पुगेको थियो भने ओलीले त्यही टोलीलाई आफ्नो कुरा राखेर पठाएका थिए । आयोगमा बयान दिन नजाने बताउँदै आएका ओलीले जेन–जी आन्दोलनमा भएका घटनाबारे पहिले नै लिखित बयान तयार गरेका थिए ।
आयोगको टोलीले उनीबाहेक अरुलाई भने आफ्नो कार्यालय सिंहदरबारमै बोलाएर घण्टौँसम्म बयान लिएको थियो । पूर्वगृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलगायतसँग आयोगले बयान लिइसकेको छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा पनि आइतबार नै बयान दिएका छन् । मानवअधिकार आयोगमा पनि उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे बयान दिएका हुन् ।