काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड १९औँ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको शुभावसरमा यही पौष १९ गते देश भरी विविध कार्यक्रमहरू सम्पन्न गरेका छन् । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौँ, क्षेत्रीय कार्यालयहरू जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीमा आयोजित बृहत् रक्तदान कार्यक्रममा कुल सात सय ५५ युनिट रगत सङ्कलन गरी स्थानीय रक्तसञ्चार गृहहरूलाई हस्तान्तरण गरिएको छ ।
सोही अवसरमा ‘सन २०५० मा मेरो नेपाल’ शिर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरू बीच राष्ट्र व्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितमा देशभरका कुल सात सय ९१ विद्यार्थीहरू सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार काठमाडौंबाट श्री रिया खड्काले प्रथम स्थान हासिल गरी प्रथम पुरस्कार ५० हजार रुपैयाँ नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालयअन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार रुपैयाँ नगद र प्रमाण पत्र प्रदान गरिएको छ । उपरोक्त प्रतियोगिताहरूमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरूको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति, विभिन्न विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा स्टेसनरी सामाग्रीहरू वितरण, बागमती सफाइ महाअभियानलाई सफाइ सामाग्री हस्तान्तरण, गैरनाफामूलक सामाजिक संस्थाहरू जस्तै सेवा आश्रमलाई न्यानो सिरक, डस्नाको सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबीन वितरण, हुम्ला जिल्लाको अदानचुली गाँउपालकिाको दुर्गम गाँउका का गरिब तथा विपन्न वर्गका व्यक्तिलाई जीविकार्जनका लागि सिलाइ मेसिनहरू वितरण, ई–नेबल नेपालमार्फत बालबालिकाहरूलाई कृत्रिम हातहरू हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरू सम्पन्न गरेको छ ।
बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष खिम प्रकाश मल्लले गरे भने, बैंकका नायाब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बर्जाचार्यले स्वागत मन्तव्य, बैंकको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरू बारेमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले राखेका थिए । उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पूरा गरेका ४७ जना कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा बैंकका सञ्चालकहरू, सेयरधनीहरू, सेवाग्राहीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक तेज बहादुर गिरीले गरेका थिए ।