काठमाडौं । नेपालको डिजिटल नेभिगेसन प्लेटफर्म गल्ली म्हयाप्सले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदातालाई मतदान केन्द्र सहजै पत्ता लगाउन सकिने नयाँ ‘मतदाता पहुँच सेवा सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ललितपुर महानगरपालिकाको प्राविधिक सहकार्यमा विकास गरिएको यो फिचर शनिबार पाटन दरबार क्षेत्रमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको हो । नयाँ सेवाअन्तर्गत मतदाताले दुई तरिकाबाट आफ्नो मतदान केन्द्रको स्थान र त्यहाँ पुग्ने मार्ग पत्ता लगाउन सक्नेछन् । पहिलो, भोटर आईडी नम्बर प्रविष्ट गरेपछि प्रणालीले सम्बन्धित मतदान केन्द्रको सटिक स्थान देखाउनेछ । दोस्रो, प्रदेश, जिल्ला, स्थानीय तह र वडा चयन गरेर पनि मतदानस्थल खोजी तथा नेभिगेसन लिन सकिने व्यवस्था गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मोबाइल एपमार्फत स्वदेशी प्रविधिले निर्वाचन प्रक्रियालाई थप सूचनामूलक र व्यवस्थित बनाउने विश्वास व्यक्त गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय तहमा गल्ली म्याप्सले गरेको योगदानको प्रशंसा गर्दै प्रविधिको प्रयोगले नागरिकको मतदान सहभागिता बढ्ने बताए । गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत राज विक्रम महर्जनले आगामी फागुन २१ गते हुने निर्वाचनमा बढीभन्दा बढी नागरिकले यो सेवा प्रयोग गरी सजिलै मतदान केन्द्र पत्ता लगाउने बताए ।