काठमाडौं , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बुधबार बेलुका आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । घिसिङले भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी गत भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । साढे तीन महिनाको अवधिमा उनले तीनवटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा सरकारमा सहभागी भई उल्लेखनीय काम गरेको भन्दै घिसिङलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले भनिन्, “निकै प्रतिकूल अवस्थामा तपाईंले सरकारमा सामेल भएर देशका निम्ति ठूलो योगदान दिनुभयो । रातदिन नभनी खट्नुभयो, देशका विभिन्न भागमा पुग्नुभयो, विपद्को बेला अग्रपंक्तिमा रहेर काम गर्नुभयो । विकास निर्माणका बेथितिविरुद्ध कठोर कदम चाल्नुभयो । यो काम देशले सम्झनेछ र जनताले मूल्याङ्कन गर्नेछन् ।” जवाफमा मन्त्री घिसिङले अन्तरिमकालमा सेवा गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका छन् ।यसैबीच, घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता गर्ने समझदारी भइसकेको छ ।